सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा तीन जिल्लाका ६९ स्थानमा डढेलो, कैलालीमा ९ लाख बढीको क्षति

२०८१ वैशाख १५, १०:४३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा तीन जिल्लाका ६९ स्थानमा डढेलो लागेको छ। कैलालीमा मात्र एकैदिन चार स्थानमा आगलागी भएर ९ लाख बढीको धनमालको नोक्सानी भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–८ का टीकाराम जोशीको काठले बनेको कच्ची घरमा शुक्रवार दिउँसो विद्युतीय मिटर बक्स सर्ट भएर आगलागी भएको हो। आगलागीबाट घरभित्र रहेका नगद, सुन, अन्न, भाँडावर्तन, कपडा लगायतका सामान जलेर करिब पाँच लाख बराबरको धनमालको क्षति भएको छ।

त्यस्तै, जोशीपुर गाउँपालिका–१ जोशीपुरका नन्दन बोहराले सञ्चालन गरेको कुखुरा फर्ममा पनि आगलागी भएको छ। जोशीपुर भजनी सडक किनारमा रहेको विद्युतको पोलबाट तार सर्ट भएर शुक्रवार दिउँसो आगलागी भएको हो। आगलागीबाट कुखुरा फर्म र फर्ममा रहेका ४ क्वीन्टल कुखुरा जलेर करिब दुई लाख बराबरको धनमाल नष्ट भएको छ।

प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। भजनी नगरपालिका–२ पल्टुपुरका जितबहादुर विक र रामलखन चौधरीको काठ र खरले बनेको कच्ची घरमा पनि शुक्रवार आगलागी भएको छ। आगलागीबाट करिब एक लाख ८० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ। गहुँ काटेको खेतमा लगाएको आगो फैलन पुगेपछि आगलागी भएको हो। शुक्रवार नै जानकी गाउँपालिका–९ पुर्वी खैरिफाँटका रमेश जैशीको गाइगोठमा आगलागी हुँदा गाइगोठ पुर्ण रुपमा जलेर करिब ५० हजार बराबरको क्षति भएको छ।

प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। नासाले स्याटेलाइटबाट लिएको तस्बिरका आधारमा विश्लेषण गर्दा पछिल्लो २४ घण्टामा पश्चिम तराई र पहाडी क्षेत्रमा डढेलो धेरै देखिएको छ। सामुदायिक र राष्ट्रिय वन मात्र नभएर संरक्षित वनमा पनि डढेलो छ। सबैभन्दा बढी कैलालीमा ३० ठाउँमा डढेलो लागेको छ। त्यस्तै, डडेल्धुरामा २४ र डोटीमा १५ ठाउँमा डढेलो लागेको छ।
 

कमेन्ट लोड गर्नुस