सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेकरी उद्योगबाट मासिक १० लाख कारोबार गर्छन धनगढीका आशीषराज

२०८१ वैशाख २३, ०४:१३ रासस

धनगढीः धनगढीका एक युवाले बेकरी उद्योगबाट मासिक १० लाख कारोबार गर्दै आएका छन्। धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीका आशीषराज शर्माले स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि कामदारको रुपमा राखेका छन्।

उनले अहिले सोही स्थानमा ‘हप्पी होम बेकरी एण्ड क्याफे’पाउरोटी उद्योग खोली व्यापार गर्दै आएका छन्। उक्त उद्योगमा उनले स्थानीय र भारतीय गरी पाँच जनालाई कामदारका रुपमा रोजगारी दिएका छन्।

कामदारलाई मासिक १६ हजारदेखि २८ हजारसम्म मासिक तलब दिँदै आएका  छन्। उनले १२ जनाको परिवारको जोहो यसैबाट पुर्‍याउँदै आएका छन्। उनले प्रमाणपत्र तह सम्म अध्ययन गरेका छन्।

बेकरी उत्पादनमा सीप भएका भिनाजुसँग सीप सिकेर उनले सुरुमा धनगढीको मिलनचोकमा पाउरोटी उद्योग सञ्चालन गरेका थिए। तर हाल भने उनले धनगढीको बैयाबेहडीमा उद्योग सञ्चालन गर्दै आएका छन्। पाउरोटी उद्योगबाट औसतमा मासिक १० लाख कारोबार हुने गरेको उनको भनाइ छ। सुदूरपश्चिमका नौँवटै जिल्लाका अधिकांश मानिसहरु भने रोजगारीका लागि भारत जाने थालेको लामो समय भइसक्यो। भिसा पनि नचाहिने र रोजगारी पनि पाइने भएकाले यहाँका अधिकांश वर्षेनी भारत प्रवेश गर्छन्।

कमेन्ट लोड गर्नुस