सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा वन मासेर तालको ठेक्का, १० कठ्ठामा लगाइयो जेसिबी

२०८१ वैशाख २८, १०:३९

वीरेन्द्र भट्ट, धनगढीः कैलालीको अत्तरियामा वन मासेर तालको ठेक्का गरिएको छ।

गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित एक सामुदायिक वनले वन क्षेत्र मासेर ताल बनाउन सुरु गरेको हो। सुरक्षा महिला उपभोक्ता समुह अत्तरियाले वन मासेर पाँच वर्षका लागि जमिन ठेक्कामा दिएको छ। वनभित्र कुनै भौतिक संरचना निर्माण र जमिन खन्न नपाइने व्यवस्था छ।

सामुदायिक वनले वनको सुरक्षा गर्नुवाहेक अन्य कुनै गतिविधी गर्न नपाइने व्यवस्था समेत छ। तर सुरक्षा सामुदायिक वन उपभोक्ता समुहले भने मानवनिर्मित पोखरी एवं ताल बनाउन स्थानीय पार्वती राइलाई १० कठ्ठा वनको जमिन पाँच वर्षका लागि ठेक्कामा लगाएको छ। वार्षिक १० हजारमा ठूलो वन क्षेत्र ठेक्कामा लगाइएको हो। यस कार्यको सर्वत्र विरोध भइरहेको छ।

तीन दिनअघि मात्र माछा पोखरी निर्माण गर्न वन क्षेत्रको चारैतिर जेसीबी लगाएर माटो खन्ने काम भएको स्थायीले बताएका छन्। जवकी वन क्षेत्रमा जेसीबी लैजान समेत नपाउने नियम छ। सुरक्षा महिला सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष लक्ष्मी भण्डारीले तालको ठेक्का तीन वर्षअघि भएको बताइन्। तर ताल निर्माण गर्न हालै मात्र जेसीवी लगाइएको स्वीकार गरिन्।

उनले पाँच वर्षका लागि हाम्रै उपभोक्ता पार्वती राइलाई वार्षिक १० हजार रुपैयाँ लिने गरि वनको जमिन लिजमा दिएको बताइन्। जमिन दिएको तीन वर्ष भइसकेको छ। अब दुई वर्ष मात्र बाँकी रहेको उनको भनाई छ। तर डिभिजन वन कार्यालय धनगढीले वन क्षेत्रमा ताल निर्माण गर्न नदिने दाबी गरेको छ। डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कंडेलले यो काम तत्काल रोक्न पत्राचार गर्ने बताए।

वन क्षेत्रमा जेसीबी नै लगाएर वन मास्ने काम भएको भन्दै अत्तरियाका स्थानीयले विरोध गर्दै आएका छन्। सुरक्षा वन वर्षेनि मासिदै गएको छ। डेढ हेक्टर वन क्षेत्र सशस्त्रको वन रक्षकका लागि उपयोगमा आएपछि वन क्षेत्र घटेको अध्यक्ष भण्डारीले बताइन्। कुल ३५ हेक्टर वन क्षेत्र रहेकोमा वर्षेनि विभिन्न संघसंस्था र व्यक्तिको नाममा वन क्षेत्र नास हुँदै गएको स्थानीयको गुनासो छ।

No description available.

कमेन्ट लोड गर्नुस