वाढी पहिरो पिडितका लागि खरिद गरिएको ४६ रोपनी जग्गा हस्तान्तरणको प्रक्रिया अलपत्र
डडेल्धुराको पर्शुराम नगरपालिका वडा नम्वर २ र ३ अथवा साविकको शिर्ष गाविस वडा न. २, ३, ४ र ५ मा २०६२ साल असोज ८ गतेका दिन अविरल वर्षाका कारण आएको पहिरोमा एकै परिवारका ८ सदस्य सहित ३२ जनाले ज्यान गुमाए भने ३५ परिवार पहिरोका कारण विस्थापित जीवन विताउँदै आएका छन ।
१२ वर्ष लामो संघर्षपछि उनीहरुलाई पुर्नस्थापना गर्नका लागि ४६ रोपनी जग्गा पनि खरिद गरिएको छ तर त्यसपछिको प्रकृया अघि नबढेका कारण उनीहरुको बासको सपना, सपनामै रहेको छ । पिडितहरुले सो जग्गालाई योजनावद्ध रुपमा अगाडी वढाउँदै कित्ताकाट गरेर पुर्नस्थापनाको काम तत्काल अगाडी वढाउन माग गरेका छन ।
२०६२ सालदेखि पुर्ण रुपमा बिस्थापित भई १२ वर्षदेखि कठिन जीवनयापन गरीगरहेका विस्थापित ३५ घरपरिवारलाई पुनस्थापना गर्नका लागि गत असारमा खरिद गरिएको जग्गा हस्तान्तरणमा ढिलाई भएको हो ।
परशुराम नगरपालिका वडा नं. ४ रातीमाटीमा ३७ रोपनी र वडा नं. ५ परिगाउँमा ९ रोपनी गरी ४६ रोपनी जग्गा खरिद गरेकोमा सो जग्गा अहिलेसम्म पनि योजना वनाएर हस्तान्तरण हुन नसकेको शिर्ष पहिरो पिडित संघर्ष समितीका संयोजक प्रजापति नाथले वताए ।
पिडीतहरुले सरकारी निकायले तदारुकता नदेखिएको आरोप लगाएका छन । जग्गा खरिद गरेको एक वर्ष हुन लाग्दा पनि शहरी विकासले आफ्नै नाममा राखेको जग्गामा अन्य कुनै काम समेत हुन सकेको छैन ।
योजनावद्ध रुपमा कित्ताकाट गरी पुर्नस्थापनाको माग गर्दै पिडितहरुले विभिन्न निकायहरु धाईरहेका छन । तर आफुहरुको पिडामाथि मलमल लगाउन धेरै निकाय उदासिन देखिएको संघर्ष समितीका संयोजक नाथको गुनासो रहेको छ ।
स्थानीय वासिन्दाहरु पुर्नस्थापनको माग गर्दै पटक पटक विभिन्न निकायहरु धाईरहेका छन । पर्शुुराम नगरपालिकाले पनि उनीहरुको उचित वसोवासको व्यवस्थापनका लागि पहल गर्ने नगरपालिकाका मेयर भीमवहादुर साउँदले वताए ।
डोटीमा रहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले निर्वाचनका कारण ढिलाई भएको जनाएको छ ।
घर सहित पुर्नवास र अन्य पुर्वाधार सहित व्यवस्थागर्नका लागि कार्यक्रम संशोधन गरिदिन विभागमा पठाएको र अव छिट्टै काम अगाडी वढ्ने कार्यालयका प्रमुख झपड सिंह विश्वकर्माले जानकारी दिए ।