स्थापनाको ३ दशकसम्म महाकाली अञ्चल अस्पतालले दरबन्दीका चिकित्सक पाएन (भिडियो रिर्पोट सहित)
दुव्र्यवहार नरोकिएपछि डाक्टर जान मान्दैनन्
महाकाली अञ्चल अस्पताल विकास समित गठन आदेश २०४५ राजपत्रमा प्रकाशित भएर विधि सम्मत रुपमा स्थापना भएको असार ६ गते ३० वर्ष पूरा भएको छ । स्थापनाको ३ दशक पुग्दा समेत अञ्चल अस्पतालले दरबन्दी अनुसारका चिकित्सक पाउन सकेको छैन्। दरबन्दी अनुसारका चिकित्सकको पदपूर्ती नहुदा अञ्चल अस्पतालको बिजोग भएको छ। १८ जना विशेषज्ञ चिकित्सक सहित २७ जनाको चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल ३ जना विशेषज्ञ सहित ९ जना चिकित्सक मात्रै कार्यरत छन्।
जसमा ४ जना अञ्चल अस्पताल विकास समितीबाट नियुक्त भएका चिकित्सक कार्यरत रहेको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले बताए। चिकित्सक अभावमा अस्पतालले प्रदान गर्ने उपचार सेवा पनि दिनप्रतिदिन खस्कीरहेको छ। सुरुवात देखि नै दरबन्दी अनुसारका चिकित्सकको पदपूर्ती नहुँदा विशेषज्ञ चिकित्सक सहितको उपचार पाउन त परै जावस, सामान्य उपचारका लागि पनि कञ्चनपुरबासीले सीमावर्ती भारतीय बजार बनबास, खटिमा र धनगढी, नेपालगञ्ज लगायतका अस्पतालमा धाउन पर्ने अवस्था छ।
अञ्चल अस्पताल माफियाहरुको जालोमा परेपछि वषौँदेखी दरबन्दी अनुसारका चिकित्सक पाउन नसकेको तर्क गर्नेहरु पनि धेरै छन्। राजनीतिक दल सम्बद्ध व्यक्ति, नीजि मेडिकल सञ्चालक र अस्पतालकै उच्चपदस्थ कर्मचारीको आपसी मिलेमतोमा अस्पतालमा पदपुर्ती नहुने गरेको आरोप पनि लागेको छ। कञ्चनपुरका स्थानीय युवा केशवराज जोशीले विशेषज्ञ चिकीत्सक आएपनि उनीहरुले लखट्ने काममा भुमिका निभाउदै आएको बताए।
उनले अस्पतालमा हुने स–साना घटनालाई लिएर चिकित्सकमाथी आक्रमण गर्ने प्रवृत्तिका कारण पनि महाकाली अञ्चल अस्पतालमा चिकित्सक आउन नमान्ने गरेको जनाए। बितेको ३० वर्षमा महाकाली अञ्चल अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट र अस्पताल विकास समितिको अध्यक्ष भएर धेरै व्यक्तिले काम गरिसकेका छन्। तर गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनका लागि भने कुनै पनि व्यक्तिले गतिलो काम गरेको इतिहास छैन्। अहिलेका अञ्चल अस्पताल विकास समिति अध्यक्ष अशोक पाण्डेले पनि पदभार सम्हालेको झन्डै १० महिना पुगिसकको छ।
तर उहाँले पनि चिकित्सक पदपूर्तीका लागि कुनै गतिलो काम गर्न सकेका छैनन्। तर अञ्चल अस्पताल विकास समिति अध्यक्ष पाण्डेले आफूले विशेषज्ञ चिकित्सका लागि पहल गरिरहेको बताए। कञ्चनपुरबाट राष्ट्रिय राजनीतिमा दख्खल राख्दै मन्त्री समेत भइसकेका थुप्रै नेताहरु छन्। तर उनीहरु कसैले पनि अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी पूर्ती गर्न पहल नगर्दा यस्तो स्थिती आएको हो।