अछामी लोक साहित्य
अछाममा लोक साहित्यको अवस्था
लोकसाहित्यका दृष्टिले अछाम जिल्ला निकै सम्पन्न र समृद्धशाली रहेको छ । यहाँका प्रचीन अभिलेख, प्राचीन ग्रन्थ, प्राचीन देवलहरूमा लेखिएका अभिलेखहरूले पनि अछामी लोकसाहित्य र लिखित साहित्यको परिचय दिन्छन् । अछाम जिल्लाको साहित्यक इतिहास पनि निकै पुरानो छ । अछामी राजा श्रीभोर शाहका कान्छा छोरा बाँकावीरको अगुवाइमा सुदूरपश्चिममा विद्रोह हुँदा जङ्गबहादुरको आदेशमा वि.सं. १९०६ मा बाँकावीर काटिएका थिए । यिनै राज वंशका काजी खलकका सन्तति पहलमान सिंह स्वाँरले नेपाली भाषाको पहिलो दुःखान्त र मौलिक नाटक लेखेर अछाममा मात्र नभइ नेपाल र नेपाली साहित्यमै साहित्यिक क्रान्ति ल्याएका थिए । त्यसैले लोकसाहित्यमा मात्र नभइ लिखित साहित्यमा पनि अछाम जिल्लाले प्राचीन इतिहास बोकेको छ । अछाम लोकसाहित्यका दृष्टिले निकै सम्पन्न छ । लोकसाहित्य का लोकगीत, लोककथा, लोकगाथा, लोकनाटक, लोककविता, गाउँखाने कथा, उखान, टुक्का जस्ता थुप्रै विधाहरू पर्याप्त मात्रामा भेटाउन सकिन्छ । लोकगीतका रूपमा यहाँ होरीगीत, अनन्त्यागीत, जन्माष्टमीगीत पुत्लागीत, तीजगीत, देउसी, फाग, धमारी, मागल झाडो, डाड झंकार, धामीगीत र चाँचडी आदि थुप्रै गीतहरू जनजिब्रोमा झुिण्डएर रहेका छन्् । अछामी लोकसाहित्य अन्तर्गतका लोकगीत, लोककथा, गाउँखाने कथा उखान टुक्का आदिको सामान्य जानकारी यहाँ प्रस्तुत गरिएको छ ः
लोकगीत तथा लोकसांस्कृतिक अवस्था
संस्कृति शब्द ‘कृ’ धातुमा ‘सम्’ उपसर्ग र ति प्रत्यय लागेर बनेको व्युत्पन्न शब्द हो । यसको शाब्दिक अर्थ उत्तम अर्थात् सुध्रिएको भन्ने हुन्छ । मानव समाजमा परम्पराबाट चल्दै आएका विभिन्न क्रिया, विचार, रहनसहन तथा व्यवहारको जुन परिष्कृत रूप देखिन्छ त्यसैको नाम संस्कृति हो । मनुष्य केवल भौतिक परिस्थिति सुधार गरेर मात्र सन्तुष्ट हुन सक्दैन । भौतिक सुविधाले केवल शारीरिक सन्तुष्टि वा बाह्य सुख मिल्दछ तर आत्मिक अथवा आन्तरिक सन्तुष्टिको विकासका लागि व्यक्तिले गर्ने क्रिया नै संस्कृति हो । मनुष्यको जिज्ञासको परिणाम धर्म र दर्शनले समाधान गरेको हुन्छ भने सौन्दर्यको खोज गर्दै साहित्य, सङ्गीत, मूर्ति, चित्र, वास्तु आदि कलालाई संस्कृतिले झल्काएको हुन्छ । संस्कृति भौतिक, आर्थिक, सामाजिक, राजनैतिक तथा आध्यात्मिक अभ्युदयका उपयुक्त मनुष्यको श्रेष्ठ साधन र सम्यक चेष्टाहरूको समष्टिगत अभिव्यक्ति हो । यसले मनुष्यका वैयक्तिक एवम् सामाजिक जीवनका स्वरूपको निर्माण, निर्देशन, नियमन र नियन्त्रण गरेको हुन्छ । अतः संस्कृति मनुष्यको जीवनपद्धति, वैचारिक दर्शन एवम् सामाजिक क्रियाकलापको समष्टिगत अभिव्यञ्जना हो । संस्कृतिका माध्यमबाट सामाजिक व्यवहारका विशिष्टताको एक पिँढीबाट अर्काे पिँढीमा निगमन हुन्छ । संस्कृतिका आधिभौतिक र भौतिक गरी दुई पक्ष हुन्छन् । आधिभौतिक संस्कृति भनेको संस्कृति हो भने भौतिक संस्कृति भनेको सभ्यता हो । संस्कृति आभ्यान्तर हुन्छ यसमा परम्परागत चिन्तन, कलात्मक अनुभूति, विस्तृत ज्ञान एवम् धार्मिक आस्था जस्ता कुराहरू समावेश हुन्छन् भने सभ्यता बाह्य वस्तु हो जसमा मनुष्यका भौतिक प्रगतिमा सहायक सामाजिक, राजनैतिक, आर्थिक, वैज्ञानिक उपलब्धिहरू सम्मिलित हुन्छन् ।
यसले मानव जातिका विषय र आस्थागत परम्पराको बोध गराउँछ । मानव जातिकै जीवन शैलीलाई बुझाउने संस्कृति शब्दले दीर्घकालसम्म राष्ट्र, जाति, समाजले भोग्दै पचाउँदै आएको रहन सहन आचार विचार सम्बन्धी भावना र त्यसको भौतिक अभिव्यक्तिलाई त बुझाउँछ नै साथसाथै लोकसंस्कृति भित्र जीवनका मूल्य र मान्यता बलियैसँग बाँधिएका हुन्छन् । प्रत्येक जातिका आआफ्ना छाँटछन्द, भाषा, भाका, गीत, लय र नृत्य हुन्छन् र तिनको प्रतिनिधित्त्व संस्कृतिले नै गरेको हुन्छ । संस्कृति भन्नु जुनसुकै जातिको आत्मा हो, परिचय चिन्ह हो, राष्ट्रका क्रियाकलाप तथा विकासक्रमको ऐतिहासिक अभिलेख हो (पराजुली २०५७, पृ.२१) । लोकजीवनमा प्राप्त गरिने चालचलन, रहनसहन, लवाइखवाइ, भेषभूषा, नीति, मान्यता, विश्वास आदिलाई लोकसंस्कृतिले समेटेको हुन्छ । अछाम जिल्ला संस्कृतिको अथाह भण्डार हो । यहाँ होरी, अनन्त्या, जन्माटमी, भुओ, पुत्ला, बिसु जस्ता थुप्रै लोकसंस्कृतिहरू रहेका छन् । यी पर्व अछामी संस्कृतिका धरोहर हुन् । यी पर्व मनाउँदा अछाममा पूरै जनजीवन संस्कृतिमय बन्दछ । यी पर्वहरू मनाउँदा जनजीवन सांस्कृतिक तथा पार्विक गीतहरूमा चुर्लुम्म डुब्ने गर्दछ । पर्व भन्नाले कुनै पनि जातजाति वा समुदायले कुनै निश्चित दिनमा विभिन्न देवीदेवताको पूजाआजा गरी मिठो मसिनो खाइ रमाइलो गर्ने दिन भन्ने बुझिन्छ । हिन्दू धर्मावलम्बीहरूका विभिन्न चाडपर्वहरूका अवसरमा गाइने गीतहरू नै पर्वगीत हुन् । यस्ता गीतहरू प्रत्येक महिनामा पर्ने विभिन्न चाडपर्वहरूलाई मुख्य समय मानेर गाइने गरिन्छन् । अछाममा विभिन्न चाडपर्वका अवसरमा गाइने सांस्कृतिक वा पार्विक गीतहरूमा होरी, जरमाइठी, अनन्त्या, पुत्ला, भुओ, जस्ता गीतहरू पर्दछन् ।
क) बिसु पर्व
अछाम जिल्लामा प्रत्येक वर्षको पहिलो दिन अथवा बैसाख १ गतेका दिन बिसुपर्व मनाउने गरिन्छ । यस पर्वमा नयाँ वर्षको दिनमा फाँडो भात खाने चलन रहेको छ भने देवर भाउजका साली भिना, र हाँसोठट्टा चल्नेहरू का बिच सैनु चिलाएर रमाइलो गरिन्छ । दिनभर यस्तो रमाइलो गरिसके पछि साँझपख दहीकेरामा मुछेको फाँको खाइ पटकानीमा जम्मा भइ पुरुषहरू हातमा पोलेको लट्ठी लिएर युद्धकला प्रदर्शन गर्छन् भने त्यसपछि महिलाहरू को पुतला खेल खेलिन्छ । बिसुपर्वको सम्झनामा गाइएका केही देउडा यस्ता छन् ः
बिसुकी चिलाउन्या सैनु पहाडै रइगयो ।
रोट नपाकी बर्खाँमास रोट्यात्यार गैगयो ।।
पुसका पन्द्रकी ढुक्या चेलत्यारको माणो ।
खायाको सम्झना आँउदो चेलत्यारको फाँडो ।।
ख) पुत्ला गीत
पुत्ला नारी पर्वगीत हो । यो चेलीहरूका कण्ठबाट घन्कने गर्दछ । यसमा पुरानो वर्षको पीडा भुलाउने गरी नया“ वर्षको खुसीयाली प्रकट गरिएको हुन्छ । विभिन्न रङ्गका कपडाका टुक्क्राले मानवाकार पुत्ला बनाएर एउटा घरमा स्थापना गरी गाउको पटकानीमा पुत्ला खेल र गीत प्रारम्भ गरिन्छ र चैत्र मसान्तको रात्रीमा त्यस स्थापित पुत्लाको विवाह रचाइन्छ । यसरी विवाह गरी राखिएका पुत्लालाई डोलीमा राखेर पञ्चैेबाजाका साथ बिलौनापूर्ण पुत्ला गीत गाउदै महिलाको अगुवाइमा पुरुष सहितको जुलुसले नजिकको नदीमा बिसर्जन गरिन्छ । यी गीत पोइल जान लागेकी छोरीको बिलौनास“ग सम्बन्धित् हुन्छन् तर हाल ती गीतहरूमा केही परिवर्तन पाइन्छ । अहिलेका पुत्ला गीतले राजनैतिक विषयलाई पनि समेटेको पाइन्छ । पुत्ला गीतको एक नमुना यस्तो छ ः
जौ मास जौ गेडी लेख्या कि २
तिलगेडी तिलमास लेख्या कि
कन्ड तली सपना भिज्याकी
क्वै छोरी टिपन्नी आमा बेलौती
क्वै छोरी टिपन्नी साउ, साउ ।
रोइ मरी जान्ना, २ ।।
ग) जरमाँइठी पर्व वा गीत
जन्माष्टमी भाद्र कृष्णपक्षको अष्टमी तिथिलाई भन्ने गरिन्छ । अछाम जिल्लामा भगवान् श्रीकृष्णको जन्मको खुसीयालीमा यो पर्व मनाउने चलन परम्परादेखि चलि आएको छ । प्रायः हिन्दू धर्मावलम्बीहरूले त्यस दिन निराहार रहेर उपासना र भजन कीर्तन र्गदछन् । अछाममा यस पर्वमा एक छाक रोटी खाएर देउडा गीत गाउने प्रचलन रही आएको छ । यी देउडा भाका र खेलाइ होरीगीतस“ग मिल्दाजुल्दा रहेका छन् । जनमाष्टमीलाई अछामी स्थानीय भाषामा जरमाइठी भन्ने गरिन्छ । यो पर्व कम्तीमा पनि चार दिनसम्म मनाइने गरिन्छ । जन्माष्टमी र अनन्ते पर्वलाई अछामको होरी र धमारी भन्ने पुस्तकमा ध्वजबहादुर कुँवरले भारी खेलको नाम दिएका छन् । यस भारीखेलमा बाजाका रूपमा दमाहा, नरसिंह, ताल र मिजुराको प्रयोग गरिन्छ । यसमा गाइने गीतहरू कुनै निश्चित विषय माथि केन्द्रित हुन्छन् । यी विषयको आरम्भ र समापनमा घण्टौ समय लाग्ने गर्दछ । यस पर्वमा अछामका मा“डौ र मा“डीहरूमा धामीहरू द्यौता नाच्ने गर्दछन् भने धामी नाच पछि भारीखेलहरू लाग्ने गर्दछन् । यो खेल पुरुषप्रधान खेल हो । यसमा नारीहरू दर्शकका रूपमा सहभागी हुने गर्दछन् । यो पर्व विशेष गरी अछामका घुघुरकोट, सिद्धेश्वर, बाब्ला, पायल क्षेत्रमा बढी प्रचलित रहेको छ ।
लैजा लैजा लैजा सावरिया
ऐल सावरिया मुकिपन लैजा ।।
झुल डाडा बालकेटी रुन्छ ।
भन प्यारी क्याउ धुकु रुन्छ ।।
एक छोरो देशमा रन्या
एक छोरो गोडमा रन्या
एक छोरो भैसी गोठालो
एक छोरो गाड घट्टालो
एक छोरो बन सिकारो
एक छोरो घर हेरालो
नै खायो कठिबाड्या आम ।।
जन्माष्टमी पर्वमा गाइने गीतहरू कृष्ण विषयक मात्र नभइ अन्य विषयमा पनि गाइन्छन् । अछामी सामाजका चालचलन, रीतिरिवाज, परम्परा आदि कुराहरू यी गीतहरूमा प्रस्तुत भएका हुन्छन् ।
घ) तीजगीत
तीजको प्रचलन विभिन्न पौराणिक कथा र किवदन्तीस“ग सम्बद्ध छ । वर्षको भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने तीजको परम्परा पौराणिक कथास“ग जोडिएर आएको छ । तीजको अवसरमा विवाह भएकी चेलीबेटी जति टाढा भए पनि माइत आउने चलन छ । घरको बुहार्तनबाट वाक्क भएको अवस्थामा नौलीपौलीमात्र होइन छोराछोरी पाइसकेकी बुहारी समेत लोग्ने र सासू ससुराले बिदा नदिए पनि अत्तालिदै आधा रातको दर भेटाउन माइत पुग्ने गर्दछन् । त्यही अवसरमा दिदीबहिनी, जेठानीदेवरानी आदि मिलेर गाइने गीत नै तीजेगीत हुन (पराजुली,२०५७ः१७६) ।
अछाममा गाइने तीज गीतको एक नमूना ः
तीजका खाजा मिठा, भदौ¥या तामाले ।
छोरी लिन आउन्या भद्यो, हाम्री आमाले ।।
ङ) अनन्तया गीत
अनन्त्या अछामका चाडपर्वहरूमा छुट्टै महत्त्व बोकेको पर्व हो । यो पनि होरी र जन्माष्टमी जस्तै गाइने र खेलिने पर्व हो । यसलाई असोज महिनाको अनन्त्या पूर्णिमाका दिनमा मनाइने गरिन्छ । यसपर्वलाई पनि भारीखेलको नाम दिइएको छ । यस पर्वमा पनि माडौ र माडीहरूमा धामी नाच नाच्ने गरिन्छ र त्यसपछि अनन्त्या गीत गाउदै खेलिन्छ । यो पर्व विशेष गरी अछामका घुघुरकोट, बुढाकोट, हात्तीकोट र बाब्लामा बढी प्रचलित रहेको छ । अनन्त्या गीतको एक नमुना ः
नाइ छए नाइ छ, मान्छे अजम्मरु नाइ छए ।
कित अजम्मरु कैलाश पर्वत
कित अजम्मरु तेत्तिसकोटि देव
नाइ छए नाइ छ, मान्छे अजम्मरु नाइ छए ।।
च) भुओ पर्व
भू को अर्थ पृथ्वी अर्थात् देश हो । राष्टको रक्षा र देशवासीको जनधनको रक्षा गर्दै शान्ति अमनचैनका लागि आफ्ना नागरिकहरू लाई गोलबद्ध गर्न तत्कालीन शासकहरू ले यस खेलको प्रारम्भ गरेका हुन् । भुओ सेती कर्णाली प्रदेशमा ढाल तरवारद्धारा युद्धकला प्रर्दशन गर्ने पर्वका रूपमा स्थापित छ । अछाममा विशेष गरी क्षेत्रीहरूको बस्तीमा युद्धको प्रतीकका रूपमा भए पनि पौषकृष्ण पक्षमा भुओ पर्व मनाउने प्रचलन रहिआएको छ । यसमा सेता कपडा ( जामा पगडी ) लगाएर हातमा ढाल तरबार लिइ ताल र पैतला मिलाइ खेलिन्छ । भुओ खेलाडीलाई भुआरा भनिन्छ । यो अछामको प्रख्यात पर्व हो । यस गीतको एक नमुना यस्तो छ ः
ए पैलो भुओ कहाँ उब्ज्यो भोस्सी
ए स्वर्गका राजा इन्द्रका बारा भोस्सी
ए वा पछि भुओ कहा उब्ज्यो भोस्सी
ए पाण्डवका घर भोस्सी
छ) होरीपर्व गीत
होरी अछाम जिल्लाका धेरै लोकसंस्कृति मध्येको प्रमुख लोकसंस्कृति हो । यसलाई अछाममा धुमधामका साथ मनाउने गरिन्छ । यस संस्कृतिले अछामका सबै जातजातिहरूलाई एकताको सूत्रमा बाँधेकोे छ भने होरीपर्वका रूपमा आफ्ना े छुट्टै मौलिक पहिचान बनाएको छ । फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म मनाइने यस पर्वको सम्बन्ध धेरै पौराणिक कथाहरूसँग जोडिएको छ । फागु वा होरी पर्वको अवसरमा गाइने गीतलाई होरीगीत भनिन्छ । होरीको अवसरमा रामलीला, कृष्णलीला, शिवस्तुति जस्ता विषयलाई गीतका रूपमा गाइन्छ र तिनै शिवस्तुति र रामलीला, कृष्णलीलाका गीति कथा नै होरी गीत हुन् । यी गीतहरू केवल होरी पर्वको अवसरमा मात्र गाइन्छन् । फागु वा होली पर्व धेरै पौराणिक गाथा र किंवदन्तीहरूस“ग जोडिएको छ । यसमा प्रह्लाद, रावण, कामदेव, पुतनाका कथाहरू जोडिएका छन् । प्रत्येक पौराणिक गाथा वा किवंदन्तीको अन्तमा सत्यको विजय र राक्षसी प्रवृत्तिहरूको अन्त्य भएका कथाहरू छन् । संस्कृत भाषाको होलिका तत्समबाट होली ्र होरी नामकरण भएको यसलाई वसन्तोत्सब, काममहोत्सब, फागु, होलाष्टक नामले जानिन्छ । यसको प्रारम्भिक शब्द होलाका थियो । भारतवर्षको पूर्वी भेगमा यो शब्द प्रचलित थियो । काठकगृह्यका व्याख्याकार अथवा टीकाकार देवपालले राका होला भन्ने सूत्रको व्याख्या राका नामक देवताको पूजन कर्मका रूपमा गरेका छन् । वात्सायनको कामसूत्रमा टीकाकार जयमङ्गलले बिस क्रीडा मध्येको एक क्रीडाका रूपमा चर्चा गरेका छन् । हेमाद्रिले बृहद्यममा होलिकालाई हुतासनी भनेर चर्चा गरेका छन् । लिङ्ग पुराणमा होलीलाई फाल्गुनिका भनेर चर्चा गरिएको छ भने बराह पुराणमा पटवास विलासिनीका रूपमा चर्चा भएको छ । भविष्योत्तर पुराण अनुसार होली हेमन्त वा पतझडको अन्त्यको सूचक र वसन्तागमनको, कामप्रेममयको द्योतक हो । होलीका सुमधुर मिठासयुक्त गीत र आनन्ददायक नृत्यका उल्लासमय क्षण नै वसन्तागमनका परिचायक मानिन्छन् । वसन्तागमनको आनन्दानुभूति विभिन्न सुगन्धित द्रव्य प्रक्षेपण र रङ्गहरूको परस्पर लेपनले गरिन्छ । नेपाल तथा भारतका कतिपय ठाँउमा होलाष्टक र त्यसको पछिल्लो दिन प्रतिपदामा अबिर तथा रङ्गले होली खेल्ने चलन छ भने अछाममा होलाष्टक भरी नै होरीका गीतहरू गायर गोल घेरामा नृत्य गर्ने चलन छ । रङ्गयुक्त वातावरण केवल अन्तिम दिन टीकाका रूपमा मात्र हुने गर्दछ । होलीपर्वलाई चिनियाँ भाषामा च्वेज, अमेरिकामा होबो, अफ्रिकामा बोया, चेकोस्लाभियामा बोलियोकोनोन्स जस्ता नामले होरीलाई चिन्ने गरिन्छ ।
अछाममा गाइने होरी वा फागु गीतमा राधाकृष्णका प्रेमलीला, बाललीला, रामलीला, शिवस्तुतिदेखि लिएर सामान्य जनजीवनका विषयवस्तुसम्म रहेका छन् । यी गीतहरूमा नेपाली भाषाका मानक रूप, भाषिकाका रूप, कुमाउनी अवधी आदि मिश्रित भाषाको समेत प्रभाव रहेको वा प्रयोग भएको पाइन्छ । शिवरात्रीदेखि प्रारम्भ भई होली पूर्णिमासम्म खेलिने यस पर्वमा जनजीवन चुर्लुम्म डुबेर होरीका देउडा गाउ“छन् । होरी समूह गीत हो । यसको गायन समूहमा हुन्छ । यो खेल घेरामा आबद्ध भएर दुई पक्ष बनेर खेलिने अथवा गाइने होरी गीतमा एउटा गीत भन्ने व्यक्ति हुन्छ । त्यस व्यक्तिलाई देउड्या भनिन्छ । यस गीतको गायनमा वा खेलाइमा विशेष किसिमको पहिरन हुन्छ । त्यस पहिरनलाई जामापगडी भनिन्छ । होरीगीत मुख्यतः पुरुष गीत हो तर आजभोलि नारीहरूको पनि सहभागिता पाउन सकिन्छ । अछाम जिल्लामा मनाइने होरीका सम्बन्धमा के भनिन्छ भने नटराज शङ्करले नृत्य गरेर सारा लोकलाई नाचगानमा मग्न गराए र तिनै लोकमा सबै काम बन्द भयो । त्यो देखेर भगवान् शङ्करले होरीको सिर्जना गरी नाचगानका निम्ति आठ दिन मात्र तोके र ती आठ दिनमा नाचगान गर्नेहरूका हृदयमा सबै रागरागिनीले बास गरुन् भनी वरदान पनि दिए । त्यही अवसर पारेर पृथ्वीमा होली पर्व मनाउने गरिन्छ । होरी गीत कैलाशमा श्रीपञ्चमीका दिन जन्म्यो, शिवरात्रीका दिन पृथ्वीमा आयो र फागु पूर्णिमाका दिन राती फेरि कैलाश गयो । यसरी वशन्तको आगमनका समयमा मनाइने होरीपर्वमा गाइने गीतहरू शिव र विष्णुको भक्ति तथा उपासनासँग सम्बद्ध भए पनि यो आनन्द र उल्लासको अभिव्यक्तिका रूपमा मनाइने महान पर्व हो । यस पर्वको अवसरमा गाइने गीतका केही नमुना यस्ता छन् ः
(अ) जन फुल्यै जन फुल्यै केवडी पूmल, पूmल लाइन्या पिउँ परदेश रे लाल ।
रात जुनेली पान फुलेली, मनमा लाग्छ गुलेली र लाल ।।
मनमा चलेको शीतल हावा, आगो सरिझै पोल्छ रे लाल ।
विरह व्यथाको चोट निरालो मर्मै–मर्ममा लाग्छ रे लाल ।
ढोल बजाई अबिर उडाई, फागुन मास होरी रे लाल ।
लाग्छ उराईठो बाजो सनाईको, जसको त्यो परदेश रे लाल ।
सम्झी पियारा रुन्छन् बिचारा, वर्षाई आँसुका धारा रे लाल ।
छैन पियारा घरमा मेरा, पैरन्या पूmलका हार रे लाल ।।
ज) न्याउल्या गीत
न्याउल्या अछामको मात्र नभइ सम्पूर्ण काली कर्णालीको लोकसंस्कृति हो । खेल्दा गोलघेरामा डेढपाउ पैतला चाल्नु पर्ने हुँदा देउडा नामकरण भएको भन्ने अर्थ लगाइए पनि अछाममा भने देउडा गीतले होरी, जनमाष्टमी र अनन्त्या पर्वमा मात्र गाइने गीतलाई बुझाएको छ । अछाममा देउडा शब्दले होरीगीतका थुप्रै लयमध्ये एकलाई बुझाएको छ ( हेर्नुःअछामी होरीगीतको पौराणिक सन्दर्भ तथा तत्त्वगत अध्ययन विद्यावारिधि शोधप्रबन्ध पृ.३५ ने.सं.वि.) यस संस्कृतिले सम्पूर्ण सुदूर तथा मध्य पश्चिमेलीहरूलाई एकताको सूत्रमा बाँधेको छ । देउडा गीत चाडपर्व, संस्कार वा कुनै काम गर्दा पनि कथिन्छन् र गाइन्छन् । यी गीतहरूमा कुनै किसिमको रोकटोक र बन्धन लाग्दैन बारै मास अथवा महिनामा गाइने हु“दा यिनलाई बारमासे देउडा भनिन्छ । अछामका निरक्षर तथा स्वच्छन्दतावादी क्षिप्रसिर्जनशील लोककवि शुभनाथ जैसी (नाउटेका) मुक्त कण्ठबाट निसृत केही लोककाव्यात्मक छटाका नमुना यस्ता छन् ः
झुला“ैदो पेल्याको काक्डो सिता सितायाको ।
घर छैन घरबारी छैन मु त बितायाको ।।
राजु पाटु पोइल बाइगै फुर्का कइकि बाटू ।
बैकिनी घरमा छैन दिन कसरी काटू ।।
हिउ“द फाँको खाउँला भनी बरखा“ गोडी गै ।
दुध भनी लायाको प्रिती छाँइ भनी छाडि गै ।।
ककडसात बाड बड्यालो बैनाथ शेरालो ।
मेरा लाया फुलबारीको को होला हेरालो ।।
हिउ“ सबै मालिका पड्यो पाटन पुरि“दैन ।
जिउ बुड्यो जोबन बुड्यो माया बुड्डि“दैन ।।
जमाला है बगि आयो राती माट्या गेरु ।
बाजकली घरमा आच्छि कइका मुख हेरु ।।
रावणको सुनौलो मृग रामचन्द्र शिकारी ।
मु जस्तो क्वै पन छैन कर्मको दुःखारी ।।
खर काट्न्यालाई जरीमाना रुख काट्न्यालाई नेल ।
दुःखारीलाई निद लाग्दिन जन बुड्या बेल ।।
तल्ला मल्ला खरकको दै बोक्न्य जहरी ।
मुलाई क्यान बनाइ गइ बाजको लहरी ।।
कि दुःखारी न्यउली चरो कि दःखारी मै हु ।
बतास लाग्य बतासिदो डाडानिको पैयु ।।
धामीलेक धामीज्यूका दुई हात तिन बाला ।
दुःखारी हुनाले हो कि रात भन्दा दिन काला ।।
आधी मैना असाडको भर मैना भदौको ।
चापी दिन्या किलो भाग्यो हातका घडीको ।
आफू बाइगै झल्का लाइगै साइ कली राणको ।।
कै घट्ट घट्टालो होला कै घट्ट नाज् होला ।
कै खुडी परेवो होला कै खुडी बाज् होला ।।
झ) मागल
मागल माङ्गलिक कार्यको अवसरमा गाइने सांस्कारिक गीत हो । यसमा गरि“दै गरेको संस्कार कार्य कुनै बिघ्न बाधा रहित पूर्ण होस् भन्ने भाव व्यक्त गरिएको हुन्छ । यो नारी प्रधान गीत हो । मागल गाउँने नारीलाई मङ्ल्यारी वा माङ्ल्यारी भनिन्छ । यो गीत विशेषगरी भेरी, कर्णाली, सेती र महाकाली अञ्चलमा शुभ सांस्कारिक कार्यका अवसरमा गाइन्छ । विवाहका अवसरमा अछाम जिल्लामा गाइने मागलको एक नमूना यसप्रकार छ ः
पञ्चदेव तमी दाइना भया
पञ्च कलश तमी दाइना भया
दही गाबु सागपात सँगुनौ तमी दाइना भया
भारेभुरे जन्ती भाइयौ मुड्यौलीऔ तमी दाइना भया
साथी संगिनी सात्यौ तमी दाइना भया (अधिकारी, २०६४ः३५) ।
ञ) सगुन
मागल जस्तै सगुन पनि सांस्कारिक गीत हो । यो प्रत्येक शुभ कर्मको प्रारम्भमा अशुभको विनास र शुभको कामना गर्दै गाइने गीत हो । पश्चिम नेपालको डोटी क्षेत्रमा विशेष गरी संस्कारिक कर्म, माङ्गलिक कार्य, घर बनाउ“दा, छाउ“दा, रोपा“ई गर्दा नारी समुदायले सामुहिक रूपमा गाउँने गीत नै सगुन हो । यसलाई मागलकको सिरानमा रहने हुनाले मागलको मङ्गलाचरण पनि भन्ने गरिन्छ । सगुन पनि मागलकै प्रयोजनका रूपमा गाइन्छ । त्यसैले मागल र सगुन एकै अवसरमा गाइने सांस्कारिक लोकगीत हुन् । सौभाग्य समृद्धिको कामना गर्दा र व्रतादि गर्न थाल्दा आफ्नो कुल परम्परा अनुसार सगुन गाउँने र सगुन खुवाउने प्रचलन अद्यापि चलिरहेको देखिन्छ (पराजुली २०५७ः३८१) । सँगुनको एक नमुना यस्तो छ ः
सगुन दिय सराइनीका बोल
जयो मङ्गल गाउँन्ती
शुभ मङ्गल गाउँन्ती
शुभ लच्छिन पाउन्ती
शुभ लच्छिन बोलन्ती
सगुनदिन्या सरस्वती
सगुन दिन्या बिरस्पति
ऐहातीले मङ्गल चारिदियो ।
ट) फाग
फाग भनेको संस्कार गीत हो । यसलाई माङल पनि भनिन्छ । जन्मदेखि विवाहसम्मका संस्कार र वर्षचक्रका अनेकौं चाडबाडहरूका साथै विभिन्न जात्रा, मेला, उत्सव यज्ञ र अनुष्ठानहरूमा तत्तत् पूजा आजाका कर्मकाण्डीय विवरण सम्पन्न गर्दा र जाग्राम बस्दा अनिवार्य मानिने ईश भजनका रूपमा नारी समूहद्वारा फाग गाइन्छ । यी फागहरू मन्त्र सरह भइसकेका छन् । त्यसैले फागलाई मन्त्रगीत भनिएको पाइन्छ । माहुरीहरूले फागमा गुनगुनाए झै नारीकण्ठबाट गुनगुन गरेर गाइने हु“दा यस्ता गीतलाई फाग भनिन्छ । फागको एक नमुना यस्तो छ ः
कलश पूजाको फाग
तामाका कुम्भमी आज कलश थाप्या
भरियो कलेश आज भरियो कलश
सप्तधान्य भरी भरी कलश थाप्या
भरियो कलेश आज भरियो कलश
ठ) मृत्युगीत (डाड् झङ्कार)
हिन्दू धर्मशास्त्रानुसार मानव जीवनका जन्मदेखि मृत्यु पर्यन्त सोह्र संस्कारको विधान रहेको पाइन्छ । जस मध्ये मृत्यु अन्तिम तथा सोह्रौं संस्कार हो । यो संस्कार सबै सभ्य असभ्य देशहरूमा आआफ्नै किसिमले मनाइएको पाइन्छ (उपाध्याय,२००८ः७५) । हाम्रो देश नेपालमा केही क्षेत्रहरूमा निश्चित जातिहरूमा सबै संस्कारहरूमा गीत गाउने चलन अद्यापि कायमै रहेको पाइन्छ । जसमध्ये सुदूर पश्चिमको अछाम जिल्ला पनि एक हो । यहाँ जन्मदेखि मृत्युपर्यन्तका सबै संस्कारमा गीत गाइन्छ । अन्य संस्कारगीत र दाहसंस्कार अथवा मृत्युगीतमा प्रसन्नता र शोकविह्वल भावको अन्तर रहेको हुन्छ । मृत्युगीतमा दुई प्रकारको वणर्न पाइन्छ । मृत्युगीतमा पाइने पहिलो वर्णन मृतकको गुणको बारेमा गरिएको हुन्छ भने दोस्त्रो वर्णन मृत्युबाट उत्पन्न कष्ट तथा भविष्यको विपत्तिको बारेमा गरिएको हुन्छ । यदि कुनै सानो बालकको मृत्यु भएको छ भने उसको सुन्दरता, सरलता सिधासादापन आदिको वर्णन गरिएको हुन्छ भने परिवारको मुख्य कमाएर खुवाउने अभिभावको मृत्यु भएको छ भने उसको घरको आर्थिक दुर्दशा भविष्यमा सन्तान तथा अन्य सदस्यहरूमा आइपर्ने कठिनाइ तथा दुःखद अवस्थाको चित्रण गरिएको हुन्छ । यदि आमाको मृत्यु भएको छ भने नाबालक केटाकेटीको रेखदेख, स्याहार सुसार, खानपान, बाल्यावस्थामा अति आवश्यक पर्ने वात्सल्य प्रेम आदि कुरालाई सम्झेर त्यसको शोकलाई वर्णन गरिएको हुन्छ । मृतककी विधवा पत्नीले आफ्नो पतिको प्रशंसा र जीवनका प्रधान घटनालाई सम्झदै ठुल्ठुलो आवाजमा मर्मस्पर्शी र हृदय विदारक विलाप गरेको लयात्मक भाव नै मृत्युगीत हो । यसरी लय मिलाइ ठुलो आवाजमा रुने कार्यलाई अछामी भाषामा डाड् झङ्कार भनिन्छ । मृत्युगीतको एक नमुना यस्तो छ ः
ओए मेरा साइबाजौ
हामी कइका भरमा रौंली ।
ओए मेरा साइबाजौ
तम्की त्या“ दरबार बनायाका छन् के ?
ओए मेरा साइबाजौ
तम्रा कपडा को धोइ देला ।
ओए मेरा साइबाजौ
तम्की खानु को बनाइदेला ।
ओए मेरा साइबाजौ
केडाकेटी कइकी बुवा भनन्ना ।
ओए मेरा साइबाजौ
खेत हलो को जोतिदेला ।
ओए मेरा साइबाजौ
रबाका बोजा को बोकिदेला ।
ओए मेरा साइबाजौ
दसैं बिसु आइजान्ना ।
ओए मेरा साइबाजौ
फागुन होरी आइजाला ।
ओए मेरा साइबाजौ
मु कइकी माला ऐनुला (भट्ट.२०६९ः२२) ।
ड) पडेली (धामी) गीत
अछाम जिल्लाका माडीमा धामीहरू गादी बस्ने गर्दछन् । ती धामीलाई देवता आएको (चढेको) अवस्थामा देवस्वरूप मानिन्छ । उक्त देवस्वरूप धामीले भाका मिलाएर बोलेका कुरालाई नै अछामी लोकगीतको परम्परामा पडेली वा धामी गीत भनिन्छ । यस्ता गीतमा धामीले सामन्य कथनलाई पनि भाका फिराएर व्यक्त गर्दछन् । धामीले उक्त गीत गाउँदा उपस्थित मानिसहरूले हात जोड्नु पर्दछ । खास गरी कोही कसैलाई रोग, व्याधि, दुःख कष्ट, गाह्रो अप्ठ्यारो परेको बखतमा धामीलाई हेराउन (जोखना) गर्ने र धामीले काम्दै काम्दै त्यसको रोग व्याधि दुःख अप्ठ्यारो आउनुको कारण र त्यसबाट बँच्ने अथवा तिनको निराकरणका उपाय पनि बताउने गर्दछन् । धामीले प्रयोग गर्ने शब्दहरू असामान्य र अप्रचलित प्रकृतिका हुन्छन् । अछाममा प्रचलित धामी गीतको एक नमुना ः
अह,अह,अह तेरोए, अह,अह,अह समस्या हेर्दामाए
तुँइले नाप छल ग¥याको छइ ।
अह,अह,अह तँुइले अह,अह,अह मुलाईए
भोग दिउँला भनी भाकल ह¥याको छि ।
अह,अह,अह अबए अह,अह,अह नानातिनाले
मुपन मान्न्या बालो आच्छि राइके ।
अह,अह,अह मुलाई, अह,अह,अह अबए
पख्या¥याले हुँदैन, अब लमसिंग्या लिन्या हुँ ।। (अछाम घुघुरकोट १ की ४५ वर्षीया धम्यानी पशुपति लुहारले कामेको अवस्थाको गीत)
ढ) श्रमगीत
श्रमगीत भनेको विशेष गरी खेतीपाती लगाउँदा र भिœयाउँदा गाइने गीत हुन् । काम गर्दा मनलाई शान्त पार्न रोपाईँ गर्दा खेतीपाती गोडमेल गर्दा अन्न भिœयाउने अवस्था आदिमा गाइने गीतलाई नै श्रमगीत भनिन्छ । श्रमगीतलाई कर्मगीत पनि भनिन्छ । अछामी समाजमा बर्खाँमास धान र कोद्या गोड्ने अवस्थामा पनि देउडा गीत नै गाउने चलन छ । विशेषरूपमा काम गर्ने समयमा एक्लै भएर गाइने हुँदा ती गीत लामो भाकामा गाइन्छन् ।
जाऊल्या धानको बालो, ऐल मु कसरी भया ।
कोद्या जति कालो, जैल मु नाबालक छिँयाँ ।।
गाडी जोत्याकाइ छन् मन्सली लायाका ठौर ।
भल्का पोत्याकाइ छन् मुगा माल बिसरी गँया ।।
तली रेल चली गै, मु मुथि टिगटै रैग्याँ ।
बड पिपल ढली गै बस्न्यापन ट्याम पाँयाँन ।
एक रोटो लाट्या कि, एक रोटो लाट्याका बा कि ।
यो बर्र्खाँ काट्या कि, पुणो बर्खाँ लागि गयो ।।
कालीपन काली, मालपोत्या तुँइतिर स्वाँइँदो ।
जिन्दगानी जाली बालीबैस राँडै रनु ।। (घुघुरकोट १.का ५५ वर्षीया शुभनाथ जैशीबाट रेकर्ड गरिएको)
यसरी लामो भाकामा गाइने देउडालाई ठाडी भाका भनिन्छ । अछामी समाजमा श्रमगीतका रूपमा छुट्टै झाडोगीत रहेको छ ।
ढ.) झाडोगीत
‘झाड’ शब्दमा ‘ओ’ प्रत्यय लागेर बनेको ‘झाडो’ शब्दले अछामी समाजमा ठुलो रोपाईँँ विशेषलाई बुझाउँछ । अछामी समाजमा हुनेखानेहरूले रोपाइलाई पनि उत्सव सरह मनाउने गर्दछन् । रोपाईँको झाडो गर्दा विभिन्न व्यक्तिलाई बोलाउने र रोपाईँको भात खुवाउने चलन अछामी समाजमा आज पनि विद्यमान छ । त्यहाँ रोपाईँको दिन बिहान सबै हली, बाउसे र रोप्न्यारीहरूले खेतमूलीको घरमा रोटी खाने चलन छ । झाडो रोपाँईमा हली, बाउसे र रोप्न्यारीहरूले खेतको काम गर्दछन् भने धेरै दमार्ईहरूले बाजा बजाऊँदै खेतमा गएर विभिन्न गीतहरू गाउने काम गर्दछन् । यसरी विभिन्न गाउँका दमाई सहित धेरै कामदारहरू मिलेर गरिने झाडोमा खेतमूलीले बाजा बजाऊने दमाईहरूलाई जाँड रक्सी खुवाउनुका साथै कतिपयले राँगो दिने चलन पनि रहेको छ । झाडो गर्दा दमार्ईहरूबाट पड्छो पनि लगाइन्छ । झाडोगीतको एक नमुना यस्तो छः
अहो गोठाला कि प्यारी भैसी फर्कि गयो छे ।
अहो जन लड्केइ कान्छी साली छाती भड्कन्छ ए ।
अहो गोठाला कि प्यारी भैसी किन अड्किन्छ ए ।
सौ खेत सौताकि छोरी, ल्याइ दिन्छै त ल्याइदे बाबा ।।
तेरा बुवा मै पु¥याउँला, ल्याइ दिन्छै त ल्याइदे बाबा ।।
सौ खेत सौताकी छोरी, ल्याइ दिन्छै त ल्याइदे बाबा ।। (घुघुरकोट १.का ५५ वर्षीया शुभनाथ जैशीबाट रेकर्ड गरिएको)
३.लोकनाटक
लोकगीत र नृत्यात्मक प्रस्तुतिको संगम नै लोक नाटक हो । यसमा लोकजीवनको आस्था र व्यवहारको सरल प्रर्दशन र अभिव्यक्ति भएको हुन्छ । लोकपरम्परामा आधारित हुने यसमा शास्त्रीय नाट्य परम्पराका विपरीत निश्चित विधिविधान प्रस्तुत गरिएको हुन्छ । लोकनाटकको विषयवस्तु ऐतिहासिक पौराणिक र सामाजिक पृष्ठभूमिबाट लिइएको हुन्छ । लोकनाटक विशेषगरी श्रृङ्गार, वीर र करुण रसमा आधारित हुन्छन् । अछाम जिल्लामा प्रचलित लोकनाटकमा हुडके नाच मुख्य हो । यसको सामान्य जानकारी यसप्रकार रहेको छ ः
६.१ हुड्के नाच
हुड्के नाच अछाम जिल्लामा प्रचलित र प्रख्यात लोकनाटक हो । यसलाई लोकसाहित्य विद्हरूले लोकगाथाका रूपमा परिचित गराएको पाइन्छ । तर पनि यसमा गायनका साथै नृत्यको बाहुल्यता रहने हुँदा अछाममा देखिने हुड्के नाचलाई लोकनाटकको संज्ञा दिनु नै उपयुक्त होला जस्तो लाग्दछ । हुड्के नाच प्रस्तुत गर्ने व्यक्तिलाई हुड्क्या भनिन्छ । हुड्के नाच प्रस्तुत गर्दा हुड्क्याको पहिरन विशेष प्रकृतिको हुन्छ । हुड्के नाच्दा सेतो चौबन्दी सहितको जामा, टाउकोमा सेतो फेटा (पगडी) र हातमा डमरु जस्तो हुड्को (बाजा) रहेको हुन्छ । हुड्कोमा घुङ“रु पनि बा“धिएका हुन्छन् जसको छमछमले हुड्के नाचमा एक नया“ संगीतात्मक धुन थपिएको हुन्छ । हुड्केले प्रस्तुत गरेका गीतहरूलाई छोपुवा दिन थप दुई जना व्यक्ति रहेका हुन्छन् जसलाई जोल्या भनिन्छ । यिनले हुड्केले प्रस्तुत गरेका गीतलाई पुनरावृत्ति गर्दछन् भने गद्यको बिच बिचमा ओ भल्चीभला भन्दै थप ऊर्जा र मिठास भरेका हुन्छन् । जोल्या पनि हुड्क्या जस्तै बिच बिचमा नाच्ने गर्दछन् । हुड्के नाचमा दमाई जातिको मात्र संलग्नता रहेको हुन्छ । हुड्केको सुरुआत् देवस्तुतिबाट हुन्छ भने यसमा गाइने र प्रस्तुत गरिने गाथा वीरयोद्धको वीरता, पराइघर जाने छोरीको कारुणिक वेदना, मृतकको प्रशंसामा आधारित हुन्छ । अछामको मङ्गलसेनमा श्रीमद्भागवत सप्ताहको कलश यात्रामा प्रस्तुत हुड्केली गीतको एक नमुना यस्तो छ ।
नागातोला देव हो, तमी दाइना भया ।
गणपति देव हो , तमी दाइना भया ।
बैइनाथ शिव देव हो , तमी दाइना भया ।
मालिका देवी हो , तमी दाइना भया ।।
४ निष्कर्ष
यसरी अछामी लोकसाहित्यलाई सरसर्ती हेर्दा यह“ा लोक साहित्यका सबै विधाहरूको प्रयोग भएको पाउन सकिन्छ । लोकसाहित्यका सबै विधाहरूको अध्ययन सङ्कलन र विश्लेषणहरू पनि सामान्य रूपमा भइरहेका छन् । समाज, सभ्यता, रीति, रिवाज परम्परा आदिलाई एकताको सूत्रमा अन्वित गर्ने अछामी लोकसंस्कृतिले अछामी समुदाय र अछाम बाहिर देश विदेशमा छरिएर रहेका अछामीहरूलाई एकै मालामा अन्वित गरेको छ । अछामी भूभागमा परम्पराबाट प्रदत्त रूपमा प्राप्त लोकसंस्कृति मध्ये होरी, जरमाइठी, अनन्त्या, भूओ, पुत्ला बिसु र देउडा आदिले अद्यापि हरेक संस्कृति प्रेमीहरूलाई आश्चर्यचकित र भावविह्वल बनाएकै छन् । त्यसैले हरेक संस्कृतिप्रेमी तथा अध्येताहरूले यी लोकसांस्कृतिक पर्वहरूलाई चिनारी गराई यिनको संरक्षण गरेमा सम्पूर्ण नेपाली लोकसंस्कृतिको नै विश्वव्यापीकरण बन्न सक्ने कुरामा विश्वस्त हुन सकिन्छ ।
सन्दर्भ सामग्री
अधिकारी, जितानन्द (२०६४), “अछामी मागल तथा पर्वगीतहरूको सङ्कलन, वर्गीकरण र विश्लेषण”, त्रि.वि. मा प्रस्तुत एम.ए. शोधपत्र ।
कुँवर, ध्वज बहादुर (सम्पा २०६८), अछामको होरी र धमारी, अछाम ः कुँवर समाज सेवा समिति ।
खड्का, नृपबहादुर र अन्य (सम्पा २०६१), होरी देउडा, कैलाली ः टीकापुर सांस्कृतिक समाज ।
जोशी, डण्डीराज र महेशविक्रम शाह (२०५५), “वैद्यनाथ क्ष्ँोत्रको सांस्कृतिक अध्ययन”, दाङ ः ने.सं.वि. ।
पन्त, देवकान्त (२०३२), डोटेली लोकसाहित्य ः एक अध्ययन, काठमाडौं ः नेपाल र एशियाली अध्ययन संस्थान त्रि.वि.
पराजुली, कृष्णप्रसाद (२०५७), नेपाली लोकगीतको आलोक, काठमाडौं ः वीणा प्रकाशन ।
बन्धु, चूडामणि (२०५८), नेपाली लोकसाहित्य, काठमाडौं ः एकता प्रकाशन ।
भट्ट, देवेन्द्रप्रसाद (२०६५) “अछाम जिल्लामा प्रचलित होरी गीतको अध्ययन ” (त्रि.वि. मा प्रस्तुत एम.ए को शोधपत्र) ।
(२०६६), “अछामी होरी गीतप्रतिको एक विहङ्गम दृष्टि”, मिर्मिरे, पूर्णाङ्क–२९८ ।
शाह, सुरतबहादुर (२०४०), झारखण्ड वैद्यनाथ ते.स, अछाम ः वैद्यनाथ क्षँेत्र ।
श्रेष्ठ, तेजप्रकाश (२०४४), अछामी लोकसाहित्य, काठमाडौं ः रत्नपुस्तक भण्डार ।
सुवेदी, राजाराम (२०५८), अछामको इतिहास, अछामः वैद्यनाथ क्षेत्र विकास समिति ।