‘चक्रब्युह’ले धेरैमाझ चिनायो
म काठमाडौंकै मुहानपोखरीमा जन्मिएको हुँ । सानैदेखि राजधानीका विभिन्न चलचित्र घरमा सिनेमा हेर्न जाने गर्थेँ । साथीहरूमाझ फिल्ममा देखिएका पात्रहरूको नक्कल गथेँं । उनीहरूले मलाई कलाकार बन्न हौस्याउँथे ।
म पनि रेडियो नेपाल, नाच घर, प्रज्ञा–प्रतिष्ठानजस्ता कलाकार तथा चलचित्रकर्मी जम्मा हुने ठाउँमा जान थालेँ ।
विस्तारै निर्माता, निर्देशकका घरसम्मै धाउन थालेँ ।
त्यति वेला तत्कालीन शाही नेपाल चलचित्र संस्थानले मात्र फिल्म बनाउँथ्यो । तैपनि, निर्माता, निर्देशकलाई हैरान पार्न छाडिनँ ।
०४३ सालतिर एउटा टेलिफिल्ममा मौका पाएँ । कृष्ण मल्ल र रमेश बुढाथोकीले ‘कोसँग जुधौँ’ भन्ने टेलिफिल्ममा मलाई लिडरोलमै मौका दिनुभयो ।
विजय मल्लको लेखनमा बनेको उक्त टेलिफिल्मको मुख्य पात्र डाक्टर थियो । सोही रोल मैले पाएँ । तर, सुटिङमा नर्भस भएर मैले डायलग बोल्नै सकिनँ । तैपनि, जसोतसो गरेर सुटिङ सकियो ।
अभिनयको डेब्युमा नर्भस भएपछि मलाई निर्माता–निर्देशकले ‘तिमी कलाकार बन्न सक्तैनौँ, बरु अरू थोकै गर,’ भन्नुभयो । तर, मैले भनेँ कलाकार बन्ने अठोट लिइसकेको थिएँ । यसैबीच, ०४४–४५ सालतिर धारावाहिक टेलिशृंखला ‘चक्रब्युह’मा अनेक प्रयास गरेर भिलेनको चम्चाको रोलमा अवसर पाएँ ।
यसअघि पनि बीचमा दुई–तीनवटा टेलिफिल्ममा खेलेर अभिनय कलालाई निखारिसकेकाले ‘चक्रब्युह’मा भएको ‘नरे’ पात्रलाई न्याय गर्न सकेँ । शूरवीर पण्डित, कलाकार