सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक्सरे मेसिन फिर्ता पठाउने निर्णय एक दिनमै उल्टियो

जनशक्तिको व्यवस्थापन गर्दै २० गतेभित्रै जडान गरिने 

२०७५ असार ६, ०६:५४

सेती अञ्चल अस्पतालमा राष्ट्रिय क्षयरोग केन्द्रले पठाएको अत्याधुनिक डिआर एक्सरे मेसिन फिर्ता पठाउने निर्णय एक दिनमै उल्टिएको छ । सेती अञ्चल अस्पतालको मंगलवार बसेको बैठकले सो मेसिन फिर्ता पठाउने निर्णय गरेको थियो । तर बल्ल आएको मेसिन जडार गरेर प्रदेश ७ का जनतालाई सेवा दिनुको सट्टा फिर्ता पठाउने निर्णय गरेको भन्दै अस्पतालको आलोचना भएपछि उक्त निर्णय फिर्ता लिईएको सेति अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डाक्टर कपिल गौतमले बताउनुभयो । प्रदेश ७ को सामाजिक विकास मन्त्रालयले पनि मेसिन फिर्ता पठाउने निर्णय रद्ध गर्न निर्देशन दिएको थियो । मंगलवार भएको मेसिन फिर्ता पठाउने निर्णयलाई रद्ध गर्दै जनशक्ती र मेसिन राख्ने स्थानको व्यवस्थापन गर्दै २० गते भित्रै जडान गर्ने तयारी भईरहेको सेति अञ्चल अस्पतालका लेखा अधिकृत लोचन रेग्मीले बताए ।  

झण्डै एक करोड बराबरको सो एक्सरे मेसीन प्रदेश नम्वर ७ का कुनै पनि अस्पतालमा नरहेको अवस्थामा राष्ट्रिय क्षयरोग केन्द्रले बैशाख १९ गते मात्रै सो मेसीन सेती अञ्चल अस्पताललाई पठाएको थियो । तर अस्पतालले मंगलवार मात्रै राष्ट्रिय क्षयरोग केन्द्रलाई पत्र पठाउदै जनशक्ति र स्थान अभावको समस्या देखाउदै एक्सरे मेसिन फिर्ता गर्ने जानकारी गराएको थियो । आज सामाजिक विकास मन्त्रालयलाई बोधार्थ सहित राष्ट्रिय क्षयरोग केन्द्रलाई २० गतेभित्रै मेसिन जडान गर्ने जानकारी गराईएको लेखा अधिकृत रेग्मीले बताए । २० गते भित्रै मेसिन जडान गर्ने पत्र मेसिन खरिद गरेको सप्लायर कम्पनीलाई पनि पठाईसकेको उनले बताए । 

अहिले सेती अस्पतालमा सिआर एक्सरे मेसिनबाट सेवा उपलब्ध गराईदै आएको छ । सिआर भन्दा डिआर प्रविधिको मेसिन निकै अत्याधुनिक मानिएको छ । सो मेसिनले अस्पतालको सेवालाई थप प्रभावकारी एवम्ं समय सापेक्ष बनाउने दावी गरिएको छ । डिआर मेसीनले एउटा एक्सरेमा ५ देखि १० मिनेट लगाउने गरेको छ भने डिआर मेसिनले भने बढिमा २ मिनट मात्रै लगाउने गरेको छ । वाईफाई प्रविधिद्धारा एक्सरे गर्न सकिने भएकोले समयको बचतसँगै काममा सहजता हुने बताइएको छ । अस्पतालमा लिइएको एक्सरे अन्य अस्पतालमा देखाउनु परेमा पेनड्राईभ अर्थात इमेल मार्फत पनि पठाउन सकिने अस्पतालले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस