अस्वस्थकर खानाको उत्तम विकल्प
स्वस्थ रहन प्राकृतिक जीवनशैलीमा आधारित आहार–विहारको महत्वपूर्ण भूमिका हुन्छ । बजारमा विभिन्न थरीका खाद्यपदार्थ उपलब्ध छन् । तर, कतिपय खाद्यपदार्थले शरीरलाई फाइदाभन्दा बढी हानि पु-याउँछ । कतिपय अस्वस्थकर खानासमेत हाम्रो दैनिकी बनेको छ ।
जसको विकल्प खोज्न हामीलाई हम्मेहम्मे पर्छ । शरीरमा मन्द विषको काम गर्ने खाद्यपदार्थको विकल्प खोज्न भने जरुरी हुन्छ ।
मैदाको विकल्प
अधिकांश रेस्टुरेन्ट आइटम मैदाबाट बन्छ । तर, मैदाले शरीरमा भने हानि गर्छ । यसको विकल्पमा प्राकृतिक पिठोको प्रयोग गर्न सक्छौँ । जस्तो कि, गहुँ, जौ, मकै, फापर, कोदो आदिको पिठो ।
चिनीको विकल्प
चिनी प्रायः नेपालीले दैनिक प्रयोग गर्ने खाद्यपदार्थ हो । चिनीको विकल्पमा शुद्ध मह, सख्खर, मिश्री आदि गुलियो पदार्थको प्रयोगले शरीरलाई स्वस्थ राख्ने काम गर्छ ।
सिटिसी चियाको विकल्प
चिया नेपालीले दैनिक प्रयोग गर्ने पदार्थ हो । बिहान उठेपछि चिया प्रयोग गर्ने प्रचलन छ । चियामा प्रयोग गरिने प्याकेजिङ चियापत्तीको विकल्पमा हरियो र तुलसीको चिया स्वस्थकर हुन्छ ।
प्रशोधित तेल
आजभोलि सहर मात्र होइन गाउँमा समेत बढी मात्रामा प्याकेटको तेल प्रयोग गरिन्छ । यसको विकल्पमा शुद्ध तोरीको तेल प्रयोग गर्दा स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
समुद्री नुन
समुद्री नुनको सट्टामा पकाएको खानामा सिधेनुन र साँधेर खानका लागि बिरेनुनको प्रयोग गर्न सकिन्छ ।
र, यो पनि
हाम्रो दैनिकीमा गरिष्ट भोजनले महत्वपूर्ण हिस्सा बनाएको छ । यसको विकल्पमा शाकाहारी खानाको प्रयोग गर्नु उत्तम हुन्छ ।
विशेषगरी सहरी क्षेत्रमा स्टोर गरिएको खाद्यपदार्थको बढी प्रयोग हुन्छ । भान्सामा पाकेका ताजा खाद्यपदार्थलाई यसको विकल्पका रूपमा लिन सकिन्छ ।
रासायनिक तथा कृत्रिम खाद्यवस्तुको पनि प्रयोग नगर्दा राम्रो हुन्छ । यसको विकल्पमा जैविक तथा प्रकृतिप्रदत्त खाद्यपदार्थको प्रयोग गर्न सकिन्छ ।