कति समयमा फेर्ने मोटरसाइकल पार्ट ?
विशेषगरी सहरी क्षेत्रका अधिकांश मानिसले मोटरसाइकल प्रयोग गर्छन् । मोटरसाइकलको प्रयोगले कामलाई छरितो बनाउन सहयोग पुरयाउँछ । तर, यसको प्रयोगमा भने विशेष सावधानी अपनाउन जरुरी हुन्छ । नत्र जहाँकहीँ यसले दुःख दिन सक्छ । मोटरसाइकल कन्डिसनमा राख्न र टिकाउन यसको पार्टमा बढी ख्याल राख्न जरुरी हुन्छ । यी हुन् मोटरसाइकलका पाँच महत्वपूर्ण पार्ट :
टायर
टायर मोटरसाइकलको महत्वपूर्ण पार्ट हो । टायर दुई प्रकारका हुन्छन्, ट्युबवाला र ट्युबलेस । मोटरसाइकल चलाउँदा ट्युबलेस टायर राम्रो हुन्छ । तर, टिकाउका लागि भने ट्युबवाला टायर नै राम्रो मानिन्छ । टायरको पनि आफ्नै आयु हुन्छ । २५ हजार किलोमिटर गुडेपछि अनिवार्य रूपमा टायर परिवर्तन गर्नुपर्छ ।
ब्रेक सु
ब्रेक सु पनि मोटरसाइकलको महत्वपूर्ण पार्ट हो । ब्रेक सुमा समस्या निम्तिएमा ब्रेक नै लाग्दैन । त्यसैले यसको रेखदेख गर्न आवश्यक हुन्छ । कतिपयले जथाभावी ब्रेक लगाउने गर्छन् ।
यसो गर्दा ब्रेक सु घोटिने गर्छ र लामो समय टिक्दैन । ब्रेक समाएर ड्राइभ गर्ने बानी पनि कहिल्यै गर्नुहुँदैन । र, पाँच हजार किलोमिटर गुडेपछि ब्रेक सु अनिवार्य रूपमा परिवर्तन गर्नुपर्छ ।
बेयरिङ
मोटरसाइकलमा प्रयोग हुने बेयरिङले टायरलाई सजिलैसँग घुम्न सहयोग गर्छ । बेयरिङको पनि विशेष ख्याल राख्न जरुरी हुन्छ । कहिलेकाहीँ बेयरिङ जाम हुन पनि सक्छ ।
यस्तो भएमा इन्जिन बिग्रिने, माइलेज कम हुनेलगायतका समस्या हुन्छ । प्रत्येक आठ हजार किलोमिटर गुडेपछि अनिवार्य रूपमा बेयरिङ परिवर्तन गर्नुपर्छ । बेयरिङमा गोटी हुन्छन् । एउटा मात्र गोटी खस्दा पनि टायर घुम्न सक्दैन ।
क्लज प्लेट
क्लज प्लेट कति समयसम्म टिकाउने भन्ने कुरा चालकमा निर्भर हुन्छ । क्लज प्लेट जोगाउन मोटरसाइकल गुडाउँदा जहिले पनि एक गेयरबाट सुरु गर्नुपर्छ । र, बाइक बिस्तारै चलाउनुपर्दा गेयर डाउन गरिहाल्नुपर्छ । नत्र ब्रेक लगाउँदा क्लज प्लेटमा क्षति पुग्छ ।
क्लज प्लेट इन्जिनभित्र हुन्छ । यस्तो प्लेट ठ्याक्कै यति समयमा परिवर्तन गर्नुपर्छ भन्ने छैन । कतिको एक हजार किलोमिटर गुडेपछि परिवर्तन गर्नुपर्छ र कतिले ५०–६० हजार किलोमिटरसम्म पनि क्लज प्लेट परिवर्तन नगरी गुडाएका छन् ।
एयर फिल्टर
एयर फिल्टर भनेको हाम्रो नाकजस्तै हो । एयर फिल्टरबाट मोटरसाइकलको इन्जिनमा हावा पास हुन्छ । प्रत्येक सर्भिसिङमा यसलाई सफा गरिन्छ । दुई हजार किलोमिटर गुडेपछि मोटरसाइकल सर्भिसिङ गर्नुपर्छ । एयर फिल्टर फोहोर भएमा इन्जिन छोटो समयमै बिग्रने डर हुन्छ । ६ हजार किलोमिटर गुडेपछि भने एयर फिल्टर पनि परिवर्तन गर्नुपर्छ ।