कैलालीमा सिकलसेलका विरामीको संख्यामा वृद्धि
पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायमा देखापर्ने सिकलसेलका विरामीहरु कैलालीमा वृद्धि भएका छन्। वर्षेनी दोव्वर वढी संख्याले यो रोगका विरामी वढिरहेका हुन्। थारु समुदायमा भयावहका रुपमा रहेको सिकलसेल एनिमियाको उपचार सरकारले एक लाख सम्म निःशुल्क गर्ने भनेपछि आर्थिक वर्ष २०७३÷७४ मा सेती अञ्चल अस्पतालमा उपचार गराउने विरामीको संख्या २ सय १२ जना थिए। आर्थिक वर्ष २०७४÷७५ मा उपचारका लागि आउने सिकलसेलका विरामीको संख्या दोव्वर वढीले वृद्धि हुँदै चार सय ५० जना पुगेको छ।
सिकलसेलको उपचारका लागि कैलालीमा सेती अञ्चल अस्पतालसँगै सुखडको घोडाघोडी अस्पताल सुचिकृत गरिएकोमा सेतीमा विरामी वढ्दै जाँदा घोडाघोडी अस्पतालमा पनि विरामीहरु वृद्धि हुदै गएका छन्। गत भदौदेखि घोडाघोडी अस्पतालले सिकलसेलको उपचार सेवा सुरु गरेकोमा हालसम्म उपचार गर्ने विरामीको संख्या एक सय ७५ पुगेको छ। सेती अञ्चल अस्पतालमा कैलालीका साथै कञ्चनपुरका विरामीहरु पनि आउने गरेका कारण यसका विरामी वढ्दै गएको सेती अञ्चल अस्पतालकी सिकलसेल फोकल पर्सन यशोदा ढकालले बताईन्। कैलालीवाट सिकलसेल एनेमियाका गम्भीर प्रकृतिका दुई सय ७५ बिरामीलाई गत आर्थिक वर्ष २०७४÷७५ मा सुचिकृत स्वास्थ्य संस्थामा उपचारका लागि सिफारिस गरिएको छ।
सरकारले निःशुल्क उपचार दिने सिकलसेल लगायतका विभिन्न ८ वटा रोगका लागि ३ सय ३१ सिफारिस दिएकोमा त्यसको ठुलो हिस्सा झण्डै ८३ प्रतिशत विरामी सिकलसेलकै रहेका छन्। आर्थिक वर्ष २०७३÷७४ मा एक सय ११ जनालाई सिफारिस गरिएकोमा एक वर्षमै त्यसको दोव्वर वढी विरामीलाई उपचारका लागि सिफारिस गरिएको हो। पहिले कसैलाई पनि थाहा नहुदा उपचार गर्नेको सख्या कमै हुने गरेकोमा पछिल्लो समयमा थारु समुदायमा आएको जनचेतनाले गर्दा उपचार गर्नेको सख्यामा बृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक महेश चन्द बताउछन्।
शरीरमा रक्तअल्पता भई थकान र कमजोरी महसुस गर्नु, रगतको कमीले सेतोपन देखिनु, रगतको कमीसँगै कमल पित्त जन्डिस देखिनु, बारम्बार रगत चढाइराख्नुपर्ने अवस्था आउनु, बेलाबखतमा खुट्टा र हातका हड्डी, ढाड, छातीका करङहरूमा अत्यधिक पीडा हुनु, कलेजो, फियो, पित्तथैली दुख्नु, प्रायः शिशुहरूमा निमोनियाँ र मस्तिष्क ज्वरो मेनिनजाइटिस हुनु सिकलसेलका लक्षण हुन।
तर यसका वारेमा जनचेतनामुलक कार्यक्रम गर्न सरकारी निकाय र कैलालीका स्थानीय तहहहरु प्नि उदासिन वन्दै आएका छन् तर आफुहरु कार्यक्रम गरिरहेको दावी जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईको छ। सिकलसेल एनिमिया रगतको रातो रक्त कोषभित्र रहने हेमोग्लोबिनलाई असर पार्ने वंशानुगत रोग हो। यो रोग बुबा र आमा दुवैको प्रभावित ‘जिन’ बच्चामा समेत प्रवेश गर्ने गरेको छ । सिकलसेल रोगबारे जनचेतना फैलाउन र पिडित रोगीहरूको उचित स्याहार प्रवद्र्धनमा उत्प्रेरित गनका लागि सरकारी निकायहरुले खासै कार्यक्रम छैनन्। तर पनि चेकजाँच गर्दै जाने क्रम वढेका वेला विरामीको संख्या पनि वृद्धि भईरहेको छ।