डाइटमा राम्रो स्प्राउट्स
विभिन्न अन्न तथा गेडागुडीको कम्बिनेसन नै स्प्राउट्स हो । यस्ता सबै खाद्यपदार्थलाई पानीमा भिजाई टुसा उमारेर स्प्राउट्स तयार पारिन्छ ।
राम्रोसँग पचाउन सकियोस् भनी यसलाई पानीमा भिजाउने गरिन्छ । अनि यसलाई टुसाइन्छ ।
टुसाउँदा यसमा भएको न्युट्रिसियनको मात्रा थप बढेर जान्छ । यस्तो खाद्यपदार्थलाई दैनिक खाजाको रूपमा प्रयोग गर्न सकिन्छ ।
जसले शरीरमा इनर्जी र भिटामिनको मात्रा राम्रोसँग पूर्ति गर्छ । त्यस्तै, यसलाई सलादको रूपमा पनि प्रयोग गर्न सकिन्छ । स्प्राउटमा स्टर्चको मात्रा कम हुने भएकाले यसको प्रयोगले तौल बढ्ने डर हुँदैन ।
कसरी तयार पार्ने ?
० जस्तोसुकै गेडागुडी पहिला ६ घन्टासम्म पानीमा भिजाउनुपर्छ । यसरी भिजाउने गेडागुडीमा मुङ, बिन्स, चना र दाललगायतका पदार्थ हुन सक्छन् ।
० ६ घन्टापछि पानीबाट निकाल्ने र राम्रोसँग पानीले सफा गर्ने । अनि मखमल या कटनको कपडामा बाँधेर राख्ने । यसरी बाँधेको गेडागुडी कम्तीमा पनि ८ घन्टासम्म लगातार राख्नुपर्छ ।
० त्यसपछि कपडा खोलेर हेर्दा गेडागुडी टुसाइसकेको हुन्छ । अर्थात्, स्प्राउट्स तयार हुन्छ । यसमा टमाटर, हरियो धनियाँ र कागतीको रस राखी साँधेर खान सकिन्छ । चनाले भने टुसाउन अलि बढी समय लिने गर्छ ।
कसरी खाने ?
० स्प्राउट्सलाई खजाको रूपमा प्रयोग गर्न सकिन्छ । यो प्रयोग गरेको तत्कालै चिया वा कफी लिनुहुँदैन ।
० यसलाई सलादका रूपमा पनि उपभोग गर्न सकिन्छ । तर, दुईपटक राम्रोसँग सफा पानीले सफा गरेर मात्र प्रयोग गर्नुपर्छ ।
० टुसाउनका लागि जुन कपडा प्रयोग गरिन्छ, त्यो सफा हुन जरुरी हुन्छ ।
पौष्टिक तत्व
० यसमा न्युट्रिसियनको मात्रा निकै हुन्छ । त्यस्तै, फाइबरका साथै भिटामिन ए, सी, के, फोलेट, म्याग्नेसियम, कपर, जिंक, आइरन, क्याल्सियमलगायतका तत्व हुन्छन् ।
यस्ता तत्व एन्जाइमका लागि निकै आवश्यक हुन्छ । यसले शरीरमा मेटाबोलिजमको मात्रा बढाउन निकै राम्रो भूमिका खेल्छ ।
० यसका धेरै फाइदामध्ये रोगप्रतिरोधी क्षमता बलियो बनाउनु पनि एक हो । यसमा भएको भिटामिन एले एन्टिअक्सिडेन्टको काम गर्छ, जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।