सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका व्युटीपार्लरहरुवाट मोटाउने नाममा हानिकारक औषधीको खुलेयाम बिक्री (भिडियो सहित)

२०७५ जेठ ४, ०५:०६
सामान्यतया व्युटीपार्लरहरुमा सौन्दर्य सम्वन्धी विभिन्न काम हुने गर्छ तर धनगढीका कतिपय व्युटीपार्लरहरु भने अवैधानिक रुपमा मोटाउने औषधी वेचविखन गरिरहेका छन् । दुव्ला मानिसहरु छोटो समयमा नै मोटाउने भन्दै उनीहरुले चिकित्सकको सल्लाह विना नै विभिन्न खालका औषधी वेचविखन गरिरहेका हुन् । तर चिकित्सकहरुले भने यस्ता औषधी अति आवश्यक परेका वेला विरामीहरुलाई मात्रै सेवन गराउन मिल्ने भएकोले अन्य व्यक्तीले प्रयोग गर्न नहुने बताएका छन् । चिकित्सकको सल्लाह विना मोटाउने प्रयोजनका लागि यस्ता औषधी सेवन गरे मानव स्वास्थ्यमा गम्भीर असर पर्ने उनीहरुको चेतावनी छ । 

चिकित्सकको सल्लाह विना प्रयोग गर्नै नमिल्ने औषधी धनगढीका व्युटीपार्लरहरुले मोटाउने औषधीका रुपमा विक्री गरिरहेका हुन् । किप्ल्याक्सन र काडीला नामक यी औषधीहरु दुव्लापात्ला युवती र किशोरीहरुलाई मोटाउने औषधीका रुपमा बिक्री भईरहेको हो । यी दुई औषधीले मासु फुलाउने र अत्यधिक मात्रामा भोक लगाउने गर्दछन् ।  श्वासप्रश्वासमा समस्या आउने लगायतका बिरामीलाई अत्यावश्यक मात्रामा मात्रै सेवन गराउन सकिने यी औषधी सामान्य मानिसले प्रयोग गर्नै नमिल्ने फिजिसियन डाक्टर शुभेषराज कायस्थले बताए । 

औषधी पसलमा १ सयदेखि दुई सय रुपैयाको एक पत्ता पाईने यो औषधी ब्युटीपार्लरहरुमा भने १५ सयदेखि २ हजार रुपैयासम्ममा विक्री भईरहेको छ । विभिन्न मेडिकलवाट खरिद गरेका ट्याव्लेटलाई धुलो पारेर आयुर्वेद औषधी हो भन्दै ठगी गरेर पनि विक्री भईरहेको पाईएको छ । यस्ता औषधीले उच्च रत्तचाप, मधुमेह लगायतका दृघरोग लाग्ने सम्भावना धेरै हुने भएकोले मोटाउने प्रयोजनका लागि सेवन नगर्न डाक्टर कायस्थले सुझाव दिए । 

व्युटीपार्लरहरुबाट बिक्री भईरहेको यो औषधी सेवन गरेमा एक महिनामा ५ किलो तौल बढ्ने हुन्छ । तर यसको फाईदा भन्दा पनि बेफाईदा धेरै भएकोले सेवन गर्न नहुने चिकित्सकहरुको भनाई छ । सौन्दर्य सम्बन्धी काम गर्ने ब्युटीपार्लरबाट औषधी बेचबिखन हुनु आफैमा गैरकानुनी कार्य हो । यसतर्फ सरोकारवाला निकायले ध्यान दिन जरुरी छ । 
फिजिसियन डाक्टर शुभेषराज कायस्थको भनाई भिडियोमा हेर्नुहोस् । 

 

कमेन्ट लोड गर्नुस