धूमपानले कसरी स्वास्थ्यमा असर ?
मानिसको व्यक्तित्व जान्न उसको पोशाक, बोली र व्यवहार हेरेरमात्र पुग्दैन । उसले हाँस्दा, बोल्दा देखिने दाँत, फेर्ने सासले समेत व्यक्तित्वमा प्रभाव पार्छ । बोल्न थाल्दा सास गन्हायो, हाँस्दा दाँतभरी लेउ, फोहोर देखियो भने हामी सकेसम्म त्यस्ता व्यक्तिको वरिपरि नै पर्न चाहँदैनौं ।
हामीमध्ये धेरैलाई लाग्न सक्छ कि चुरोट र सूर्तिले हाम्रो दाँत र मुखका विभिन्न भागलाई असर गर्छन् । सूर्तिजन्य पदार्थ चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, सुपारी र गुट्खालगायतको अत्यधिक प्रयोगले हाम्रो दाँत मात्र नभएर मुखभित्रको गिजा, छालामा समेत नराम्रो असर गरिरहेको हुन्छ ।
धेरैलाई सुपारीले केही हुदैँन भन्ने लाग्न सक्छ । तर यस्तो होइन । धुम्रपानले मुखभित्र असर गरिरहेको भएपनि ठूलो समस्या नआएसम्म हामीलाई थाहा हुदैन । धेरैको दाँतको नियमित जाँच गर्ने बानी हुदैँन । जसले कस्तो समस्या आइरहेको छ भन्ने थाहा हुँदैंन र उपचारमा ढिलाइ हुँदा समस्या देखिन थालेको छ ।
पुरुषमात्र होइन महिलाहरु पनि धूमपान गरिरहेका पाइन्छन् । किनकि अस्पतालमा दाँतको समस्या भएर आउनेमध्ये धेरैलाई धूमपानको प्रयोग पनि समस्या भइरहेको पाइन्छ । विशेषगरि श्रमिक, गाडी चालक तथा तिनका सहयोगी, किसान र गृहिणीहरु बढी दाँत तथा गिजाको समस्या लिएर अस्पताल आउने गरेको पाइन्छ ।
घरमा बस्ने गृहिणीहरुको दिनभर काम नहुने भएकाले तलतल लागेर सुरुमा सुपारी खाने बानी बसाल्छन् र त्यसैलाई लत बनाएको पनि पाइएको छ । सुर्तिखैनी, गुट्खा खाए काम गर्न आनन्द हुन्छ भन्ने भम्र पनि भएकाले धेरैले गलत आदत बसालेका हुन्छन् । तराईमा गुट्खा, पान, सूर्ति, चुरोट र पहाडमा बिँडी, सूर्ति, खैनी,चुरोट बढी प्रयोग गर्ने गरेको पाइन्छ । कतिपयले निकै समयदेखि समस्या हुँदा पनि बाहिर देखाउँदैनन् ।
धूमपान गर्नेहरुलाई पछि गएर मुखको क्यान्सर हुन्छ । यस्तो लत भएकालाई निम्न समस्या देखिन्छन् ः
–मुखमा रातो, सेतो दाग देखिने जुन पछि गएर क्यान्सर हुन सक्छ
–दाँतमा पहेंलो अथवा कालो दाग देखिने
–गिजाले आफ्नो ठाउँ छाड्ने
–दाँत माझ्दा रगत आउने, हल्लिने
–मुखभित्रपट्टि गालामा घाउ हुने
–मुख खोल्न नमिल्ने, यसका कारण खानबोल्न समस्या हुन्छ
–गिजा दुख्ने, सुन्निने
–दाँत कमजोर हुने
–मुखको तालु, जिब्रो, भित्री गालामा हुने नरमपन हट्दै जान्छ, जसले मुख खोल्न समस्या हुन्छ ।
–पिरो,अमिलो खाँदा पोल्ने
माथि उल्लेख गरिएका जस्ता समस्याको समयमै उपचार गराइएन भने त्यसले जटिल रुप लिन सक्छ । मुखको क्यान्सर धेरै पुरुषमा देखिने भएपनि पछिल्लो समय महिलामा पनि देखिन थालेको छ ।