प्रदेश ७ का पहाडी जिल्लाका स्वास्थ्य संस्थामा औषधी अभाव
प्रदेश नम्बर ७ का विभिन्न जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधी अभाव भएको छ। औषधी अभावका कारण विपन्न परिवारका विरामी उपचारबाट वञ्चित भएका छन। हाल स्थानिय तह आफैले औषधी खरिद गर्ने व्यवस्था भएपनि सम्बन्धित स्थानीय तहको गतिलो व्यवस्थापनको अभावमा स्वास्थ्य चौकी तथा अस्पतालमा औषधी अभाव भएको गुनासो आएको हो।
करिब ८० प्रकारका औषधी अस्पताल तथा स्वास्थ्य चौकीबाट वितरण गर्नुपर्ने सरकारी प्रावधान रहेपनि हाल कतिपय स्वास्थ्य संस्थामा सिटामोल समेत नरहेको गुनासो आईरहेको छ।
औषधी अभाव हुदा विरामीको उपचारमा असहज भईरहेको स्वास्थ्यकर्मीहरु बताउछन्। यता क्षेत्रिय मेडिकल स्टोर धनगढीले पनि प्रदेश ७ का जिल्लामा केहि मात्रामा औषधीको अभाव रहेको जनाएको छ। क्षेत्रिय मेडिकल स्टोरका प्रमुख नारद प्रसाद साहनीले केन्द्रबाट नै औषधी नआएका कारण केहि मात्रामा अभाव रहेको बताए। उहाँले गत साउन महिनादेखी स्थानिय तह आफैले पनि औषधी खरिद गर्ने अख्तीयारी पाईसकेकोले धेरै जसो औषधी स्थानिय तहले नै खरिद गरेर स्वास्थ्य संस्थामा वितरण गरिरहेको बताए।
तर केहि स्थानिय तहका पदाधिकारीहरुलाई औषधी खरिद गर्ने प्रक्रियामा अलमल देखिएकोले अभावको समस्या देखिएको हुनसक्ने उनको भनाई छ। हाल रेबिज बिरुद्धको खोपको समेत अभाव हुदा बिरामीहरु मर्कामा परिरहेका छन्। तर भखैरै रेबिज बिरुद्धको खोप पनि प्राप्त भईसकेको र बिभिन्न स्वास्थ्य संस्थामा ढुवानीको काम भईरहेकोले अब समस्या नहुने क्षेत्रिय मेडिकल स्टोर धनगढीले जनाएको छ।