मधुमेह नियन्त्रणमा खानपानको भूमिका
भनाई नै छ स्वस्थ नै ठूलो धन हो। तर बढ्दो आधुनिकीकरण, विलासी जीवनशैली र अस्वस्थकर खानपानका कारण मोटोपन, मुटुरोग, उच्च रक्तचाप, मधुमेह, मष्तिष्कघात, पक्षघात लगायतका दीर्घकालिन रोग विश्वभर बढ्दो छ। यस्ता रोग नियन्त्रणमा राख्न यी ५ बुँदालाई हामीले सधैं ध्यान दिनुुपर्छ।
१. स्वस्थकर खानपान
२. नियमित व्यायाम
३. औषधि उपचार
४. तनावबाट मुक्त
५. नियमित जाच तथा परामर्श
मधुमेह भएका वा मधुमेहको उच्च जोखिममा रहेका व्यक्तिले खानपान र जीवनशैलिमा परिर्वतन गरेको खण्डमा धेरै हदसम्म मधुमेह नियन्त्रणमा राख्न सकिन्छ र औषधिको प्रयोग कम वा औषधि नै प्रयोग गर्नु नपर्ने स्थिति पनि आउन सक्छ। जसले गर्दा मधुमेहबाट हुने अन्य जोखिमबाट पनि हामी बच्न सक्छौं। मधुमेहीले सधै के कुरा ध्यानमा राख्नु पर्छ भने सुगर लेभल के खानेकुराले भन्दा पनि कति मात्रामा खानेकुरा खाने भन्ने कुराले निर्भर गर्छ। त्यसैले कति मात्रामा खानु हुँदैन भनेर ध्यान दिन जरुरी छ।
तपाईुंलाई कति खानपान आवश्यक छ भन्ने कुरा तपाईंको उमेर, उचाई, लिङ्ग, तौल, शारीरिक कृयाकलाप र तपार्इंले प्रयोग गर्ने औषधिमा निर्भर हुने गर्छ । तसर्थ डाईटिसियनलाई भेटेर खानाको उचित परामर्श लिएमा एकदमै लाभदायक हुन्छ।
सामान्यतया हामी के सल्लाह दिन्छौं भने हरेक खानपानमा रेसादार वा खस्रो प्रकारका बस्तुहरु दैनिक रुपमा समाबेस गर्नुहोस्। जसले तपाईंको सुगर लेभल नियन्त्रनमा राख्नुका साथै उच्च रक्तचाप, हाई कोलेस्टेरोललाई पनि नियन्त्रणमा राख्न मद्धत गर्दछ। रेसादार वा खस्रो प्रकारका वस्तु भन्नाले सागपात, तरकारी, फलफुल, खोस्टासहितको वस्तुलाई बुझ्छौं। मधुमेह भएका व्यक्तिले वा मधुमेहको उच्च जोखिममा रहेका व्यक्तिले कार्बोहाईड्रेट बढीमात्रामा पाईने वस्तुहरुको प्रयोग कम मात्रामा गर्नुपर्छ। अन्नजन्य वस्तु, आलु, तरुल, पीँडालु, सखरखण्ड, ईत्यादिमा कार्बोहाईड्रेटको मात्रा अन्य वस्तुमा भन्दा अलि बढी मात्रामा पाईन्छ। त्यसैले यी वस्तुको प्रयोग ठीक मात्रामा मात्र गर्नुपर्छ।
तसर्थ हामीले प्रत्येक छाकमा अन्नको तुलनामा तरकारीको प्रयोग बढी मात्रामा गर्नुपर्दछ। मैदाजन्य परिकारले सुगर लेभल चाँडो बढाउने भएकाले यस्ता वस्तु प्रयोग कम वा गर्नुहुन्न।
प्रशस्त खान सकिने कुराहरू-
-सादा सलाद जस्तै काँक्रो, मुला, गाँजर, गोलभेडा, प्याज आदि।
-सागसब्जी वा सागसब्जीको सुप, पातलो मही, कागती पानी
ध्यान दिनुपर्ने अन्य कुराहरू-
-खाना पकाउँदा तेलको प्रयोग कम गर्ने अर्थात चिल्लो कम गर्ने। बोसो भएको मासु, भित्री अंगको मासु जस्तै कलेजो, मुटु, फोक्सो आदि नखानुहोस्।
-तेलमा फ्राइ गरेको वा धेरै तेल हालेर बनाको परिकार जस्तै पुरी, पकौडा, डोनट, सेल, समोसा, आलुचिप्स, तारेको पापड, तेलमा डुबाएर बनाइएका अचार, आदि नखानुहोस्।
-चिनी तथा चिनीजन्य खानेकुरा जस्तै चकलेट, ग्लुकोज, जाम, केक, आइसक्रिम, मह, चाकु, सक्खर, गुलियो बिस्कुट आदि नखानुहोस्।
-ताजा फलफुलबाहेक टिनमा बन्द फलफुल तथा फलफुलका जूसहरु नखानुहोस्।
-हल्का पेय पर्दाथ जस्तै कोकाकोला, पेप्सी, फेन्टा, स्प्राइट आदि नखानुहोस्।
-मादक तथा सुर्तीजन्य पदार्थको प्रयोग नगर्नुहोस्।