यसरी लाग्छ मानिसलाई रोग
संसारमा विभिन्न चिकित्सा पद्धतिको विकास भएको छ । फरक–फरक चिकित्सा विज्ञानले स्वास्थ्य र रोगलाई फरक–फरक तरिकाबाटै परिभाषित गरेको पाइन्छ । खासगरी एलोप्याथिक र योग विज्ञानले परिभाषित गरेको स्वास्थ्य र रोगबारे यहाँ उल्लेख छ :
के हो स्वास्थ्य ?
महर्षि चरकको भनाइअनुसार जसको त्रिदोष अर्थात् बात, पित, कफ र समयमा नै दिसा हुने क्रियाकलाप सन्तुलित अवस्थामा छ र आत्मा, इन्द्रिय र मन सधैँ प्रसन्न रहन्छ भने त्यही मानिस पूर्ण रूपमा स्वस्थ हो ।
होमियोप्याथीअनुसार शरीर, मन र जिवनीशक्ति अर्थात् आत्माको सन्तुलन नै स्वास्थ्य हो । यसैको असन्तुलन नै रोगको कारण हो । जसरी आयुर्वेदमा रोगको कारण बात, पित्त र कफ हो, यसरी नै होमियोप्याथीमा कुनै पनि रोगको कारण सोरा, सिफिलिस, साइकोसिस र ट्युबरक्लोसिस गरी चार कारण छन् । मानव शरीरमा हुने धेरैजसो मानसिक एवं शारीरिक रोगको मुख्य कारण नै यही हो ।
मन दूषित भएन भने तन पनि दूषित हुँदैन । मनको भित्री अवस्था नै रोगको रूपमा प्रकट हुन्छ । अर्थात् भित्र जस्तो छ, बाहिर पनि त्यस्तै देखिन्छ ।
रोग के हो ?
मानिसको मनमा अनेक प्रकारका चाहना र वासना हुन्छन् । त्यसको पूर्ति भएन भने मन क्षुब्ध हुन्छ । मन क्षुब्ध हुनाले प्राण क्षुब्ध हुनुका साथै प्राणको नाडीतन्त्र प्रभावित हुनाले स्नायुमण्डल अव्यवस्थित हुन जान्छ । र, शरीरमा कुजिर्ण तत्व, अजिर्ण तत्व जम्मा हुन्छन् । फलस्वरूप कालान्तरमा गएर शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या उत्पन्न हुने गर्छ । यसैलाई नै रोग भनिन्छ ।
रोगका मुख्य दुई कारण
१. दैनिक व्यवहार गर्ने क्रममा मानिसमा उत्पन्न हुने तनावको प्रतिफल नै सामान्यतया रोग हो । जसको समाधानको साधनलाई उसले प्राकृतिक चिकित्सा अर्थात् योग बताएको छ ।
२. अर्कोचाहिँ आकस्मिक रूपमा या कारणविनै हुने रोग हो । जस्तो कि चोटपटक लाग्नु, घरको छतबाट लड्नु, संक्रमण हुनु आदि कारणले उत्पन्न हुने गर्छ ।
कुन चिकित्सा विधि कस्तो ?
मनको भावना तथा विचारको शुद्धीका लागि योग चिकित्सा विज्ञान निकै उपयोगी हुन्छ । शरीरको स्तरमा आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा, युनानी, तिब्बतीय एवं अन्य चिकित्सा पद्धतिहरू उपयोगी हुन सक्छन् ।
रोगको उत्पत्ति र त्यसको निदानको विषयमा योग, आयुर्वेद एवं होमियोप्याथी, प्राकृतिक, युनानी चिकित्सा पद्धतिबीच सैद्धान्तिक एकरूपताजस्तो देखिन्छ । तर, त्यस्तो समानता आधुनिक चिकित्सा एलोप्याथीमा भने देखिँदैन ।
स्वास्थ्यबारे पूर्व र पश्चिममा निकै भिन्नता छ । एलोप्याथिकबाट कुनै रोगीको उपचार गर्दा रोगको निदानपश्चात् मुटु, श्वासप्रश्वास, पेट, नसा, मानसिक, छाला आदि श्रेणीमा वर्गीकरण गरी छुट्याइन्छ । त्यसपछि शरीरको प्रभावित भागको मात्र उपचार गरिन्छ ।
किनकि, आधुनिक चिकित्सा विज्ञानमा आधार भनेकै क्लिनिकल परीक्षण र रोगलाई नियन्त्रण गर्नु हो । तर, होमियोप्याथीलगायतका उपचारमा रोगीको लक्षण र मानसिक अवस्थाको पनि ज्ञान लिएर उपचार गरिन्छ ।