वर्षातमा हेपाटाइटिसको जोखिम
हेपाटाइटिस भाइरसबाट हुने हेपाटाइटिस–ए सरुवा रोग हो । यसले मानिसको कलेजोमा असर पु-याउँछ । यसको विषयमा सचेतता अपनाउन जरुरी हुन्छ ।
नत्र यसले विकराल रूप लिन सक्छ । खासगरी सरसफाइको अभावमा लाग्ने यस्तो रोगले सुरुको अवस्थामा जन्डिसको लक्षण देखाउँछ । हेपाटाइटिस–एको जोखिम अन्य मौसममा भन्दा वर्षात्मा बढी हुन्छ ।
के हो हेपाटाइटिस–ए ?
हेपाटाइटिस–ए दिसाका माध्यमबाट सर्ने रोग हो । यसले विद्यालय उमेरका बालबालिकादेखि वृद्धवृद्धासम्मलाई आक्रान्त पार्छ । यस्तो समस्या गर्मीमा बढी देखिने सम्भावना हुन्छ । राम्रोसँग सरसफाइ नगर्दा यस्तो रोग लाग्ने गर्छ ।
विकासोन्मुख देशका ९० प्रतिशत बालबालिकामा यसको संक्रमण देखिने विभिन्न अध्ययनले देखाएका छन् । शरीरमा हेपाटाइटिस–एको जीवाणु प्रवेश गरेको २–४ हप्तामा जन्डिसलगायतका लक्षण देखिन थाल्छ ।
पहिलो अवस्था
यसका विभिन्न अवस्था हुन्छन् । १ देखि २ हप्तासम्मको अवधिलाई पहिलो अवस्थाको रूपमा लिइन्छ । पहिलो अवस्थामा यस्ता प्रकृतिका लक्षण देखिन्छन् :
यो अवस्थामा बिरामीको खानामा रुचि घट्दै जान्छ ।
उनीहरूलाई वाकवाकी लाग्न पनि सुरु गर्छ ।
ज्वरो आउने समस्या हुन्छ ।
सामान्यतया मानिसले दिनमा दुई–तीनपटक दिसा गर्छन् । तर, यस्तो समस्या भएका मानिसलाई तारन्तार दिसा लाग्ने हुन्छ ।
पेटको दायाँ कोखामा दुख्न पनि सुरु हुन्छ ।
दोस्रो अवस्था
पहिलो अवस्थापछिको एक हप्तामा बिरामी दोस्रो अवस्थामा प्रवेश गर्छ ।
यो चरणमा प्रवेश गरेका बिरामीको दिसा तथा पिसाब पहेँलो हुन थाल्छ ।
अनि बिस्तारै आँखा, नङ, मुख र शरीरका अन्य भाग पनि पहेँलो हुन सुरु हुन्छ ।
हेपाटाइटिस एका तीन अवस्था हुन्छन् – पहिलो, दोस्रो र तेस्रो । एकदेखि दुई हप्ता पहिलो अवधि हो । पहिलो र दोस्रो अवस्थामा यसका मुख्य लक्षण देखिन्छन् । त्यसपछि लक्षण देखिँदैन तर जटिलता बढ्छ ।
तेस्रो अवस्था
यसको तेस्रो अवस्थामा लक्षणहरू हराएर जान थाल्छन् । बिरामी निको भएको महसुस हुन्छ तर रोगले भने भित्रभित्रै गाँज्न थाल्छ । बिरामी थप कमजोर हुँदै जान्छ ।
उपचार
बिरामीलाई प्रशस्त मात्रामा झोलिलो तथा सफा र ताजा खानेकुरा खुवाउनुपर्छ ।
हेपाटाइटिस–एका बिरामीलाई बढी आरामको आवश्यकता हुन्छ । त्यसैले त्यसको वातावरण मिलाउन जरुरी हुन्छ ।
जथाभावी तथा अनुमानका भरमा जडीबुटी र एलोपेथिक औषधिको प्रयोग गर्नु हुँदैन ।
खाना खानुअघि र खाएपछि राम्रोसँग साबुनपानीले हात धुन बिर्सनुहुँदैन ।
वर्षात्को समय पिउने पानीको विषयमा पनि बढी सचेत हुन अत्यावश्यक हुन्छ । जहिले पनि उमालेर वा जीवाणुनाशक औषधिको प्रयोग गरी पानी पिउनुपर्छ ।
खाना राम्रोसँग पकाएर मात्र खानुपर्छ ।
यसबाट जोगिन बिरामीले प्रयोग गरेका कपडा वा भाँडा प्रयोग गर्नुहुँदैन । त्यस्ता भाँडा र कपडालाई राम्ररी घाममा सुकाएर मात्र प्रयोग गर्नुपर्छ ।
ट्वाइलेटमै दिसापिसाब गर्ने बानी बसाउनुपर्छ भने बालबच्चाको दिसासमेत ट्वाइलेटमै विसर्जन गर्नुपर्छ ।
घरको ढल निकासलाई राम्रोसँग व्यवस्थित पार्दै जानुपर्छ ।
बिरामी शिथिल हुँदै गएमा तुरुन्त स्वास्थ्य संस्थामा पुगी उपचार गराउनुपर्छ ।
प्राणघातक हेपाटाइटिस बी ?
हेपाटाइटिस बी एक भाइरस हो, जसले कलेजोमा संक्रमण गर्छ । पहिला सामान्य लाग्छ तर यसले बिस्तारै विकराल रूप लिँदै जान्छ । जसलाई एक्युट हेपाटाइटिस पनि भनिन्छ ।
कहिलेकाहीँ संक्रमण लामो समयसम्म रहन सक्छ । यसलाई क्रोनिक हेपाटाइटिस बी भनिन्छ । यसले लामो समयसम्म संक्रमित त पार्छ नै, यसका साथै कलेजोमा पनि क्षति पु-याइरहेको हुन्छ । भाइरस संक्रमित आमाबाट जन्मने शिशुमा क्रोनिक हेपाटाइटिस बी हुने अत्यधिक सम्भावना हुन्छ ।
अचम्मको कुरा के छ भने हेपाटाइटिस बी छ भन्ने कुरा लामो समयसम्म तपाईंलाई थाहा नै नहुन सक्छ । किनकि, यसको लक्षण नदेखिने सम्भावना बढी हुन्छ । या, देखिए पनि सामान्य फ्लुको हुन्छ । हेपाटाइटिस बी एक्युट र क्रोनिक गरी दुई प्रकारका हुन्छन् ।
कुसंस्कार
विभिन्न रोगबारे गाउँघरमा आफ्नै प्रकारको उपचार खोजिरहेका हुन्छन् । कतिपय अवस्थामा त्यस्ता गतिविधि अत्यन्तै हानिकारक हुन्छ । गाउँघरमा जन्डिस झार्ने भन्दै टाउकोमा काँसको बटुका राखी अन्डा घोलेर मन्त्र पढेजस्तो गरी घोलिएको अन्डा देखाएर जन्डिस भन्नेसम्मको प्रचलन पनि कतिपय ठाउँमा छ । जुन अत्यन्तै भ्रामक र कुसंस्कार हो । यो हानिकारक हुन्छ ।