सेती अञ्चल अस्पतालको प्रसुती वार्डको सेवा खस्किदो(भिडियो रिर्पोट सहित)
कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्वर ८ की गीता रेग्मीलाई प्रसुती सेवाका लागि आइतबार राती ११ बजे सेती अञ्चल अस्पताल पुगाईयो । अस्पतालमा पुर्याएपछि डाक्टरहरुले बच्चा र आमाको अवस्था ठिक रहेको बताउदै शल्यक्रिया गर्न नपर्ने कुरुवलाई जानकारी गराए । पाठेघरको मुख खुलीरहेकाले छिट्टै शल्यक्रिया विना नै बच्चा जन्मीने चिकित्सकहरुको दावी थियो । तर अस्पताल पुगाईएको झण्डै २४ घण्टापछि सोमवार राती साढे १० बजे चिकित्सकहरुले रेग्मीको शल्यक्रिया गर्नुपर्ने बताए । अगाडी आमा र बच्चाको अवस्था सामान्य भनिएता पनि शल्यक्रिया गरि एक्कासी मृत बच्चा दिएको आफन्तहरुले आरोप लगाएका छन् ।
यो त एउटा उदाहरण मात्रै हो । सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा यस्तै समस्या भोगेकाको सङख्या धेरै बनिसकेको छ । नर्सिङ कर्मचारीहरुले चेकजाँचमा लापरवाही गर्ने र चिकित्सहरुले पनि बोलाएको समयमा नआउने समस्याले सेती अञ्चल अस्पतालको प्रसुती वार्ड असुरक्षित बन्दै गएको छ । प्रसुती वार्डले अञ्चल अस्पतामा ल्याईएका गर्भवतीलाई रेफर गर्न नपाउने दावी गरेपनि डेलभरीका लागि सुटुक्क निजि अस्पतालमा पठाउने र चर्को शुल्क असुल गर्ने परिपाटी पनि बस्दै गएको अस्पतालमै भेटिएका सुरेन्द्र वहादुर चन्दको भनाई छ ।जनशक्ति, उपकरण र शैया अभावसंगै स्वास्थ्य कर्मचारीको लापरवाहीका कारण सेती अञ्चल अस्पतालको प्रसुति वार्डको सेवा खस्किदै गएको हो । प्रदेश नम्वर ७ कै रेफ्ररल अस्पतालको रुपमा रहेको अञ्चल अस्पतालको प्रसुती वार्डमा विरामीको चाप हुने गरेको छ । दैनिक रुपमा २० देखि २५ जनासम्म सामान्य डेलिभरी हुने गरेको छ भने करिब ३, ४ जनाको शल्यक्रिया हुदै आएको छ । तर विरामीको अवस्था र संवेदनशीलतालाई न नर्सिङ कर्मचारीहरुले ध्यान दिएका छन न त चिकित्सकहरुले नै ।
तर विरामीको चापको तुलनामा प्रसुती वार्डमा उपकरण, जनशक्ति र शैया समेत नरेको दावी अस्पतालको छ । पेटमा रहेको शिशुको अवस्था जाच्नका लागि उपकरण समेत नरहेको अञ्चल अस्पतालकी स्त्रीरोग विशेषज्ञ डाक्टर नाजमुस्सवा अन्सारीको गुनासो छ । उनका अनुसार क्षमता भन्दा विरामीको चार गुणा बढि चाप भएकाले सेवा प्रभावकारी हुन नसकेको हो । आमा सुरक्षा कार्यक्रम सेती अञ्चल अस्पतालसंगै कैलाली जिल्लामै पनि नवजिवन अस्पताल र टिकपुर अस्पतालमा पनि निशुल्क छ । तर प्रदेश नम्वर ७ भरीका गर्भवतीलाई प्रसुती सेवाका लागि सेती अस्पतालमै ल्याईने गरिएको छ । तर प्रसुती वार्डमा कार्यरत नर्सिङ कर्मचारी र चिकित्सकहरुको लापरवाहीको विषयले बेला–बेला चर्चा पाउदै आएको छ ।