सेती अञ्चल अस्पतालमा मेसु टिकाउनै मुस्कील
माथिल्लो तहका चिकित्सक नेतृत्व सम्हाल्न अस्वीकार गर्दै
प्रदेश नम्वर ७ का ९ जिल्लाका वासीन्दाको जनस्वास्थ्यसंग जोडिएको सेती अञ्चल अस्पतालमा पछिल्ला केहि बर्ष यता मेडीकल सुपरिटेन्डेन्ट अर्थात मेसु टिकाउन समस्या हुन थालेको छ । झण्डै डेढ दशक सम्म सेती अञ्चल अस्पतालमा मेडीकल सुपरिटेन्डेन्ट (मेसु) रहेका डाक्टर गणेश वहादुर सिंह सेवानिवृत भएपछि अस्पतालको नेतृत्व पाएका कसैले पनि लामो समय मेसु भएर बस्न मानेनन् ।
डाक्टर सिंहपछि मेसुको जिम्मेवारी पाएका ११ औँ तहका डाक्टर बिसनसिह बोहराले अस्पतालमा नेतृत्व गर्ने ईच्छा नै व्यक्त गरेनन् । त्यसपछि मेसुको जिम्मेवारी सहित अस्पतालमा आएका डाक्टर सुर्य वहादुर गुरुङ त विदा लिएर काठमाडौ गए, तर अस्पतालमा फर्कीएनन् । डाक्टर गुरुङले मेसुबाट छोडेपछि डाक्टर अशोक श्रृपाईलीलाई मेसुको जिम्मेवारी दिईयो उनले पनि आफ्नै खुसीले बर्ष दिन नपुग्दै राजीनामा दिए ।
पछिल्लो एक बर्षदेखि मेसुको जिम्मेवारी सम्हाल्दै आएका डाक्टर सजन केसीले पनि मेसु पद छोडेर भरतपुर अस्पताल जाने तयारी गरिसकेका छन् । पछिल्लो केहि बर्षयता लामो समय सम्म कोही पनि टिक्न नसक्ने समस्याले अस्पतालको व्यवस्थापन चुस्त बनाउदै प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको छ ।
अस्पतालमा अहिले पनि ११ औँ तहका ६ जनाको दरबन्दी मध्ये दुई जना चिकित्सक डाक्टर विसनसिह बोहरा र हेमराज पाण्डेय कार्यरत छन् । तर विगतमा दुवै जनाले मेसु बन्न अस्वीकार गरिसकेका छन् । ११ औँ तहका डाक्टरहरु भएपनि उनीहरु काम गर्न असहज हुने भन्दै मेसु बनेर अस्पताल सुधार गर्न ईच्छुक नभएकाले नवौ तहका डाक्टरले मेसुको जिम्मेवारी दिईदै आएको छ ।
तल्लो तहका चिकित्सकलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएर माथिल्लो तहका चिकित्सकलाई चलाउन पर्ने समस्याले पनि मेसु पदमा चिकित्सकहरु स्थीर नभएको तर्क अस्पतालका पुर्व मेसु डाक्टर गणेश वहादुर सिहको छ । उनका अनुसार सेती अञ्चल अस्पतालमा मेसु बन्नका लागि धेरै तनाव खेप्न पर्ने हुन्छ ।
सेवा, सुविधा दिएर पनि माथील्लो तहका डाक्टरहरु सेती अञ्चल अस्पतालको मेसु बन्न किन डराउछन त ? के राजनीति हावी भएरै हो ? अथवा अन्य कारण, खोजीको विषय बनेको छ । मेसुको जिम्मेवारी दिएपनि कार्यालय सहयोगीलाई पनि निकाल्न सक्ने सम्मको अधिकार नपाएको पुर्व मेसुहरुको दावी छ ।
अस्पताल विकास समितीले हरेक निर्णयमा हस्तक्षेप गर्ने गरेका कारण पनि सेती अञ्चल अस्पतालमा नेतृत्व गर्दै काम गर्ने बातावरण बन्न नसकेको उनीहरुको दावी छ । सरकार परिवर्त भएसंगै विकास समिती पनि परिवर्तन हुदाँ अस्पतालका निर्णयहरु पनि फेरीने समस्याले अञ्चल अस्पतालको अवस्था सुधार भएको छैन् ।
विकास समितीका पदाधिकारीहरुले अस्पतालको गुणस्तर सुधारका लागि पहल गर्नुभन्दा पनि अस्पतालको बजेटमा अनुगमन भ्रमणमा बढि केन्द्रित बन्दा पनि मेसु भएर काम गर्न मुस्कील भएको पुर्व मेसुहरुको भनाई छ । अस्पतालका पुर्व मेसु डाक्टर सुर्य वहादुर गुरुङ पनि यो कुरा स्वीकार गर्छन् ।
श्रोतका अनुसार सेती अञ्चल अस्पतालमा मेडीकल सुपरीटेन्डेन्ट नटिक्नुको अर्को कारण बर्षौदेखि अस्पतालमा कार्यरत प्रशासनीक कर्मचारी पनि हुन् । उनीहरुले आफ्ना पार्टी निकटका मेसुलाई सहयोग गर्ने र अन्यलाई हटाउनका लागि चलखेल गर्ने गरेको बुझीएको छ । औसधी खरिददेखि अस्पताल अन्य काममा कमिसन खादै आएका कर्मचारीहरुले मेसुलाई पनि आफ्नै मातहतमा चलाउन खोज्ने र केहि सुधार गर्न खोजे निकाल्नका लागि चलखेल गर्ने गरेको श्रोतले जनाएको छ ।
चिकित्सकहरु पनि ड्युटी सयममा निजि अस्पतालमा व्यस्त हुने परिपाटीले कार्यालय प्रमुखलाई असहज हुने गरेको छ । प्रदेशभरीका वासीन्दाको जनस्वास्थ्यसंग जोडिएको सेती अञ्चल अस्पतालको प्रमुख बन्नका लागि व्यवस्थापकीय रुपमा योग्य चिकित्सकहरुका विचमा स्वस्थ प्रतिस्पर्धा हुन पर्ने हो ।
तर सेती अञ्चल अस्पतालमा प्रमुख बन्नका लागि होईन प्रमुखबाट बाहीरीनका लागि भईरहेको प्रतिस्पर्धाले अस्पतालको सेवा सुधार होला र गुणस्तरीय सेवा पाइएला भन्ने प्रदेशवासीको सपना पुरा हुन जटिल हुने छ । चुस्त व्यवस्थापनको अभावमा स्थापनाकालदेखिका दरबन्दी पुर्ती हुन सकेका छैनन भने, अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी नभेटीने समस्या बढ्दै गएको छ ।
डायलासीस, आईसीयु लगायतका सेवालाई प्रभावकारी बनायउन सकिएको छैन भने बेला–बेला फोहोर व्यवस्थापन, पानीको व्यवस्थापन, पार्कीङ व्यवस्थापनको समस्या पनि आउने गरेको छ ।