स्वास्थ्यमा सहज पहुँच बनाउन सके मात्रै प्रदेशको गरिवी घटाउन सकिने
आम्दानीको ठुलो हिस्सा उपचार गर्दा गर्दै गुमाउनुपर्ने बाध्यता
स्वास्थ्यमा सहज पहुँच नभएकै कारण प्रदेश नम्वर ७ का ४६ प्रतिशत बासीन्दा गरिवीको रेखामुनी छन् । धेरै प्रदेशवासीले आफुले कमाएको ठुलो हिस्सा उपचार गर्दा गर्दै गुमाउनुपर्ने बाध्यता छ । प्रदेश सरकारले अस्पतालहरुको स्तरोन्नती गरी दरबन्दी अनुसारका स्वास्थ्यकर्मी पठाउन सके उपचार नपाएर ज्यान गुमाउन पर्ने बाध्यता हट्ने देखिएको छ ।
प्रदेशका पहाडी जिल्लाम मात्रै होईन तराईका जिल्ला कैलाली र कञ्चनपुरमा पनि उपचार नपाएर ज्यान गुमाउन पर्ने बाध्यता छ । सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले अहिले नसर्ने रोगका कारण उपचार नपाएर ज्यान गुमाउन पर्ने बाध्यता रहेको बताए ।
उनले क्रमीक रुपमा प्रदेश ७ को स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएपनि अपेक्षाकृत रुपमा सुधार नभएको बताए । हृदयघात, क्यान्सर, टाउकोमा गम्भीर चोट लागेको, सर्पले डसेका बिरामीले उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको छ । जिल्ला स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा नपाएका कारण परिवारको सदस्यलाई जोगाउन धेरैले अन्यत्राका अस्पतालमा लगेर आफ्नो जिवनभरीको कमाई खर्च गर्दै आएका छन् ।
उपचार गर्दा ठुलो रकम खर्च गर्नुपर्ने बाध्यताले प्रदेशवासीलाई गरिवीको रेखामुनीबाट उठानउन सकेको छैन् । यस्तो बेला जिल्ला, अञ्चल र उप क्षेत्रीय अस्पतालको स्तरोन्नती मात्रै होईन दक्ष जनशक्ति र उपकरणको पनि आवश्यकता देखिएको छ । सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले अस्पतालमा दक्ष जनशक्ति र उपकरणको आवश्यकता रहेको बताए ।
देश संघीयतामा गएर तीन सरकार क्रियाशील छन् तर प्रदेश नम्वर ७ भरी अहिले सम्म एक जना पनि मुटुरोग विशेषज्ञ चिकित्सक छैनन जस्ले गर्दा हृदयघातका कारण मृत्यु हुनेको संख्या अत्यधिक छ । अहिलेसम्म सरकारी र निजी लगानीको एनआईसीयु र पीआईसीयू छैन । ट्रमा सेन्टर नभएकाले पनि दुर्घटनाका घाइतेलाई भारतको लखनउ वा हल्द्वानी लैजाने गरिएको छ ।
यस्तो बेला प्रदेशवासीले परिवारको सदस्य जोगाउनका लागि भए भरको सम्पती विक्री गर्न पनि पछि पर्दैनन् र उपचारमै ठुलो रकम खर्च भएपछि गरिवीको रेखामुनी बस्नुको विकल्प छैन् । संविधानमा मौलिक हकको रुपमा राखिए स्वास्थ्यलाई प्रदेश सरकारले प्राथमितकामा राख्न सके धेरैलाई गरिव हुनबाट जोगाउन सकिने देखिएको छ ।
निर्देशक अवस्थीले प्रदेश सरकारले स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि योजनाबद्ध भएर अगाडी बढ्नुपर्ने बताए ।