मिर्गौला रोग के हो ? कति प्रकारका हुन्छन् ?
स्वस्थ व्यक्तिका दुबै मिर्गौलाले संयुक्त रुपमा प्रति मिनेट १०० देखि १३० मिलिलिटरसम्म रगत छान्ने काम गर्दछ । साथै पिसाब मार्फत अनावश्यक तथा दूषित पदार्थ शरीरबाट बाहिर निष्कासन गर्दछ । तर कुनैपनि कारणले गर्दा यसरी छान्ने क्षमतामा ह्रास आएमा मिर्गौला रोग लागेको भन्नुपर्ने हुन्छ ।
मिर्गौला रोगलाई दुई भागमा विभाजन गरिएको छ :
१) मिर्गौलाघात
२) दीर्घकालीन मिर्गौला रोग
१) मिर्गौलाघात :
मिर्गौलाको कार्य क्षमतामा अकास्मत वा तिव्र रुपले ह्रास आउँछ। जसमा पिसाबको निष्काशन कम हुन्छ। मिर्गौलाघात सामान्यतया उपचार गर्न सकिन्छ । मिर्गौलाघात विभिन्न कारणले हुनेगर्छ ।
केही कारण यस्ता छन्
-तीब्र रुपमा झाडापखला लागेर अत्यधिक जल विनियोजन भएमा
-अत्याधिक रक्तश्राव भएमा
-शरीरमा जीवाणुको संक्रमण भई धेरै नै शिथिल भएमा
-कुनै पनि औषधिको धेरै सेवन वा विष सेवन भएमा
-मुत्रनली अवरोध वा संक्रमण
-मुत्राशयको क्यान्सर भएमा
-तीब्र रुपमा मिर्गौला सुन्निने रोग भएमा
-असुरक्षित गर्भपतन भए÷गराएमा। आदी
२) दीर्घकालीन मिर्गौला रोग :
यो भनेको मिर्गौलामा तीन महिना वा सो भन्दा बढी समयदेखि क्षतिको अवस्था हुनु हो । अथवा मिर्गौलाको कार्यक्षमतामा ह्रास हुनु हो । मिर्गौलाको कार्यक्षमता १५ प्रतिशत भन्दा कम हुँदा दीर्घकालीन मिर्गौला रोगले मिर्गौला फेल वा मिर्गौलाको अन्तिम अवस्था सिर्जना गर्नसक्छ । मिर्गौला फेल भएपछि डायलाइसिस वा प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ ।
दीर्घकालिन मिर्गौला रोग हुने कारण :-
-उच्च रक्तचाप
-मधुमेह
-मिर्गौला सुन्निने रोग
-जन्मजात मुत्रनली साँघुरो भई पिसाब ननिस्कने अवस्था
-मूत्राशयमा बारम्बर संक्रमण
-दुखाइ कम गर्ने औषधिको अत्याधिक प्रयोग
-वंशानुगत रोग जस्तै मिर्गौलामा अंगुर जस्तो झुप्पा भएमा
-यूरिक एसिडको मात्रा बढी भई बारम्बार बाथ भएमा
-मिर्गौलाको दुवैतर्फको रक्तनली साँघुरिएमा । आदी
स्वास्थ्य खबरपत्रिका