सेती अञ्चल अस्पतालमा डायलासिसका लागि निजि कम्पनीसँग सम्झौता
सेती अञ्चल अस्पतालमा नाम दर्ता गराएर उपचारका लागि प्रतिक्षामा रहेका एक सय भन्दा बढी मृगौलाका विरामीहरुले अबको ४५ दिनपछि डायलासिस सेवा पाउने भएका छन ।
काठमाण्डौंको बिरङ हेल्थ केयर (बिरङ ट्रेडिङ कम्पनी प्रालि) र सेती अञ्चल अस्पतालबीच १० वटा डायलासिस मेसिन राखेर ४५ दिन भीत्रै थप डायलासिस सेवा सुचारु गर्ने सम्झौता भएको छ ।
सरकारले जिल्ला अस्पताल र अञ्चल अस्पतालहरुमा डायलासिस सेवा निशुल्क गर्ने भनेपनि, मेसिन र जनशक्तिको अभाव देखाउदै धेरै मृगौलाका विरामीहरु उपचार नपाएर प्रतिक्षा सूची कुर्दै आएका थिए ।
गत वर्ष देखि सेती अञ्चल अस्पतालमा चार वटा मेसिनबाट डायलासिस सेवा सुचारु छ । तर अहिले पनि एक सय जना विरामी उपचारका लागि प्रतिक्षा सूचीमा छन ।
सेती अञ्चल अस्पतालले अहिले २८ जना विरामीको नियमीत डायलासिस गरिरहेको छ । सेती अञ्चल अस्पतालको तथ्यांक हेर्ने हो भने अस्पतालबाट डायलासिस सेवा लिन तयार रहेका विरामी तत्काल मात्रै ९७ जना रहेका छन ।
सरकारले प्रति पटकको डायलासिस वाफत दिने २५ सय रकम बिरङ हेल्थ केयरलाई दिने र उसले मेसिन तथा जनशक्तिको आफै ब्यवस्था गर्नेगरी डायलासिस सेवा सुचारु गर्ने सम्झौता भएको सेती अञ्चल अस्पतालका मेसु डाक्टर सजन केशीले जानकारी दिए ।
गएको कार्तिक ८ गते बिरंङ हेल्थ केयरलाई, स्थास्थ्य मन्त्रालयले देशै भरी यही मोडेलमा डायलासिस सेवा सुचारु गर्ने अनुमति दिएको थियो । बिरंङ हेल्थ केयरका बजार प्रमुख प्रिन्स विक्रम झा ले देशभरीका स्वास्थ्य संस्थाहरुमा यही मोडेलमा डाललासिस सेवा सुचारु गर्ने तयारी गरिएको बताए ।