सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले कैलालीको नेतृत्व चयन गर्न आज मतदान, तीन जना प्रतिस्पर्धामा

२०८० फाल्गुन १०, ०९:२७ खबर संवाददाता

धनगढीः  कैलालीको सुखडमा जारी नेकपा एमाले कैलालीको नवौँ अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। निर्वाचन कमिटीले बुधवार दिउँसो २ बजे मतदानको कार्यतालिका तोकेको थियो।

तर मनोनयन दर्ता, उम्मेदवारी नामावली प्रकाशन, दाबी बिरोध लगायतका काममाा समय लागेका कारण आजलाई मतदान सारेको थियो। प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार बिहान १२ बजेपछि मतदानको समय तय गरिएको छ।

एमाले कैलालीमा त्रिपक्षीय भिडन्त हुने भएको छ। अध्यक्षमा कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्रतिस्पर्धा गर्दैछन्। अध्यक्षमा उम्मेदवारी दिएका जिल्ला कमिटी सदस्य कमलसिंह रानाले भने पाण्डेलाई समर्थन गर्दै फिर्ता लिएका छन्।

सुखडमा जारी अधिवेशनको ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। ओलीले उक्त दिन रातभर सहमतिको प्रयास गर्न निर्देशन दिदै नेताहरूलाई नभए सोमवार बिहानैदेखि निर्वाचन प्रक्रिया थाल्न भनेका थिए। तर बुधवारसम्म सहमतिको प्रयास जारी राखेका नेताहरूले सहमति नहुने अवस्था आएपछि मतदान गर्नुपरेको जनाएका छन्।

कमेन्ट लोड गर्नुस