सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मन्त्री थपिँदै, बन्यो ८ सदस्यीय मन्त्रीमण्डल

२०८० फाल्गुन २८, ०६:५१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीमण्डल विस्तार गरेका छन्।

प्रदेश सरकार जोगाउने प्रयासस्वरुप मुख्यमन्त्री शाहले सोमबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाएर मन्त्रीमण्डल विस्तार गरेका हुन्। चौधरी विना विभागीय मन्त्रीको रूपमा नियुक्त भएका हुन्। उनलाई सोमबार प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका छन्।

चौधरीले थारु भाषामा शपथ लिएका थिए। यो सँगै सुदूरपश्चिम मन्त्रीमण्डल ८ सदस्यीय बनेको छ। गत शुक्रवार पनि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीबाट ३ मन्त्री थपेका थिए। मुख्यमन्त्री शाहले यसअघि संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिलामन्त्री, प्रमुख सचेतक खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री नागरिक उन्मुक्तिकै कैलाश चौधरी रहेका थिए। यति गर्दा पनि प्रदेश सरकार भने अल्पमतमै छ। माओवादी केन्द्रले र नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै शाह नेतृत्वको सरकार अल्पमतमा परेको परेको हो।

कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा माओवादीका सभामुखसहित ११ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ जना सांसद छन्। मुख्यमन्त्री शाहलाई अहिलेसम्म आफ्नो पार्टीका १८ जना र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यको मात्रै समर्थन रहेको छ।

५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारमा बहुमत पुगाउन २७ सांसद आवश्यक पर्छ। कांग्रेसका १८ र नाउपाका ७ सांसदको साथ रहँदा पनि मुख्यमन्त्री शाहले बहुमत पाउन सक्ने अवस्था छैन्। तर, सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र एक जना र राप्रपाका १ जना सांसद छन्। उनीहरूको साथ पाए मुख्यमन्त्री सुरक्षित हुने देखिएको छ।

कमेन्ट लोड गर्नुस