मुख्यमन्त्री शाह होली लगत्तै विश्वासको मत लिने तयारीमा, जुट्ला बहुमत?
धनगढीः अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह फागु पूर्णिमा (होली) सकिए लगत्तै प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन्।
नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका हुन्। केन्द्रमा एमाले र माओवादीसहितका दल मिलेर नयाँ समीकरण बनाएपछि साविकका सत्ता साझेदार दलले मुख्यमन्त्री शाहको साथ छोडेका हुन्। कांग्रेसबाट प्रतिनिधित्व गर्ने शाह यतिबेला आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा छन्।
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्य थालेका हुन्। अहिले नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यसँग मुख्यमन्त्रीको छलफल जारी नै छ। यद्यपी सहमतिको अन्तिम टूंगो भने लागिसकेको छैन्। यसबिचमा पनि विश्वासको मत पाउनेमा मुख्यमन्त्री आशावादी छन्।
होली लगत्तै सत्ताका नयाँ साझेदारसँग ठोस सहमति गरेर विश्वासको मत लिने तयारी छ। केही साताअघि मात्र नागरिक उन्मुक्ति पार्टीका थप प्रदेश सभा सदस्यलाई लिएर मन्त्रीमण्डल विस्तार गरेका मुख्यमन्त्री शाहले राप्रपाका एक मात्र सांसद खिमादेवी बिष्ट र स्वतन्त्र सांसद तारा जोशीलाई साथमा लिइ मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिरहेका छन्।
नागरिक उन्मुक्ति पार्टीको चैत ४ गते बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरेको छ। सो बैठकमा नागरिक उन्मुक्तिका ७ जना सांसदमध्ये २ जना अनुपस्थित थिए। अनुपस्थित हुने २ जनाध्ये एक जनाले पनि विश्वासको मत नदिएको अवस्थामा मुख्यमन्त्रीले बहुमत जुटाउन सक्ने अवस्था रहँदैन।
अर्कोतिर, नागरिक उन्मुक्तिले केन्द्रमा माओवादी केन्द्र, नेकपा एमालेसहितको समीकरण तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका कारण मुख्यमन्त्री शाह अझै सो पार्टीप्रति पूर्ण विश्वस्त भने हुन नसकेको नेताहरुबिच चर्चा छ। अर्कोतिर मुख्यमन्त्री शाहलाई ग्रीन सिग्नल दिइसकेका स्वतन्त्र सांसद जोशीले पनि नागरिक उन्मुक्तिले पूर्णरुपमा विश्वासको मत दिने वातावरण तय गरेको अवस्थामा आफूले पनि दिने बताइसकेका छन्।
राप्रपा पनि शाह नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकारात्मक रहेको चर्चा छ। केन्द्रमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिएको राप्रपाले सुदूरपश्चिम सरकारप्रति भने नरम नीति अख्तियार गरेको छ। सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक पर्छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एक जनाको निधन भएपछि हाल ५२ सदस्य छन्। प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र एक सांसद छन्।