जनताको मन छुने र सबैले अपनत्व लिने बजेट ल्याउँछुः अर्थमन्त्री पुन
काठमाडौँः अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट तर्जुमा गर्नेबारे मातहतका अधिकारीहरुलाई निर्देशन दिएका छन्।
अर्थसचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरु, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकहरुलाई राखेर शनिवार बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिएका हुन्। मन्त्री पुनले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा समेट्न निर्देशन दिए।
उत्पदान वृद्धिमार्फत रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गरी वैदेशिक व्यापार घाटा कम गर्नेमा आफ्नो जोड रहने उनले बताए। त्यसका लागि उत्पादनमुलक उद्योगमा लगानी र निर्यात प्रवद्र्धनलाई जोड दिनुपर्ने उनको भनाइ छ। अर्थमन्त्रीले बजेट निर्माण गर्दा सत्ता साझेदार दलहरुबीचको न्यूनतम साझा कार्यक्रमभित्र रही विषयगत मन्त्रालयहरुसँगको समन्वयमा बजेट वक्तव्य तयार पार्न भनेका छन्। मन्त्री पुनले सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबीच तालमेल हुनुपर्नेमा जोड दिए।
‘उत्पादन र उत्पादकत्व अभिवृद्धिमार्फत रोजगारीका थप अवसर सिर्जजना हुने अनि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन हुने खालको नीति बजेटमा आउनुपर्छ’, मन्त्री पुनले भने, ‘बजेट विनियोजन गर्दा ‘बहुजन हिताय’ भन्ने मान्यताका आधारमा बढीभन्दा बढी जनतालाई छुने र उनीहरुले स्वामित्व लिन सक्ने हुनुपर्छ भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको स्पष्ट निर्देशन छ। मैले तपाईंहरुलाई भन्ने पनि यही नै हो।’ मन्त्री पुनले कृषिजन्य उपज र बजारबीच लिंकेज हुने कार्यक्रम बजेटमा राखिने जनाए। यस्तै बजारको स्थायित्वका लागि उत्पादनको आकारमा वृद्धि जरुरी रहेकामा जोड दिए। कृषि उत्पादनलाई बजार र उद्यमसँग जोड्ने कार्यक्रममा ध्यान दिन मन्त्रीको निर्देशन छ।