लुम्बिनीमा माओवादीका महरा मुख्यमन्त्री बन्ने
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्षका दलहरु सहमत भएका छन्।
एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँच बुँदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन्। लुम्बिनीमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने केन्द्रको सहमतिअनुसार प्रदेश सरकार निर्माणका लागि कसरत भइरहेको छ।
८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ। लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुख बाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्।
माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपा संसदीय दलका दलनेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरी पाँच बुँदे समझदारी बनेको हो।