सुदूर नेपाललाई विश्वसँग जोड्दै

किसानको गहुँबाली खेतमै खरानी, बाली बिमा गर्न प्राधिकरणको आग्रह

२०८१ वैशाख १०, १०:०४ नारायण अवस्थी

धनगढीः कैलाली र कञ्चनपुरमा किसानको गहुँ बालीमा दैनिकजसो आगलागीका घटना हुने गरेका छन्।

यो वर्ष तराईका दुई जिल्लामा गहुँखेतमा आगलागीका घटना बढेका हुन्। बैशाख लागेसँगै भित्र्याउन तयार भएको गहुँ खेतबारीमै आगलागी हुँदा किसानले ठुलो नोक्सानी ब्यहोर्नु परेको छ। आगलागी लगायतका अन्य प्रकोपबाट बालीनालीमा हुने सम्भावित क्षतिबाट बच्न बाली बिमा गरे किसानलाई समस्या हुँदैन।

आगलागी, असिना पानी र अन्य प्रकोपबाट हुने नोक्सानीबाट बच्न बाली बिमा गर्नुपर्ने बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हृदय पण्डितले बताए। ‘बालीमा हुने सम्भावित जोखिम र क्षतिबाट बच्न किसानले बाली बिमा गर्नुपर्छ। बिमा गरेको खण्डमा बिमा कम्पनीले क्षतिपूर्ति दिन्छ। प्रकोपबाट हुने नोक्सानीबाट बच्न किसानहरूले बाली बिमा गर्नु सबैभन्दा उपयुक्त र सुरक्षित हुन्छ’, पण्डितले भने।

गएको हप्तादेखि कैलाली र कञ्चनपुरमा गहुँ खेतमा आगलागीका घटनाहरू घटेका छन्। गत बिहीवार भजनी नगरपालिका–८ गौरचौरका टेङ्ना चौधरीको ८ कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा आगलागी भएको छ। विद्युत लाइन सर्ट हुँदा गहुँबालीमा आगलागी भएको प्रहरीले बताएको छ। त्यस्तै, बिहीवार नै जोशीपुरका परशुराम चौधरीको १३ कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा पनि आगलागी भएको थियो।

यसैगरी, जोशीपुर गाउँपालिका–४ खर्चुवाका परशुराम चौधरीको गहुँबालीमा पनि आगलागी भएको छ। आगलागीबाट करिब १३ कठ्ठामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीले जनाएको छ। शनिवार फेरि आगलागी हुँदा जोशेपुरमा १५ जना किसानको गहुँबालीमा क्षति पुगेको छ। जोशीपुर गाउँपालिका–६ पकरीयाका १५ जना किसानको गहुँमा आगलागी भएको हो। यो वर्ष कैलाली र कञ्चनपुरमा गहुँखेतीमा आगलागीका घटना बढेका छन्।

आगलागीबाट पूरै गहुँ नष्ट भए पनि किसानले थोरै राहत पाउन समेत निकै सास्ती भोग्नुपर्छ। आगलागी र अन्य प्रकोपबाट हुने क्षतिको किसानले सरकारबाट राहत पाउन वडादेखि प्रहरीसम्मको सिफारिस र कागजात तयार पारेर निवेदन दिनुपर्छ। थोरै राहत पाउन समेत किसानहरूले विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए। उनले आगलागी हुन नदिने उपाय अपनाउन र सम्भावित जोखिमबाट बच्न कृषि बिमा गर्नुपर्ने बताएका छन्।

जोशीपुरमा एकै दिनमा आगलागीबाट करिब सात विघा दुई कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा क्षति पुगेको छ। सबैभन्दा बढी महाराज कठरीयाको एक विघा, हरीचन्द्र वडायक र रामबहादुर महतोको १५/१५ कठ्ठामा लगाएको गहुँबालीमा समेत क्षति पुगेको छ। यस्तै, कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा बिहीवार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जग्गामा लगाएको गहुँ नष्ट भएको छ।

दोधारा–चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको हो। आगलागी तथा अन्य कारणले खेतीपातीमा हुन सक्ने क्षतिबाट बच्न बाली बिमा गर्नु किसानलाई प्रेरित गर्नुपर्ने  बिमा प्राधिकरण प्रदेश कार्यालय धनगढीका प्रमुख पण्डितले बताए। उनले बिमा गर्दा किसानलाई क्षतिपूर्ति पाउन सहज हुने बताए।

बिमा पश्चात् आवश्यक कागजात र प्रक्रिया पूरा गराएर समेत क्षतिपूर्ति नपाए किसानले बिमा प्राधिकरणमा उजुरी गर्न सक्ने र प्राधिकरणले पाउनुपर्ने बिमा रकम दिलाउने पण्डितले बताए। कञ्चनपुरको दोधारा–चाँदनी तथा कैलालीको जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा आगलागीबाट किसानको घर भित्र्याउने बेलाको गहुँ खेतमै जलेको हो। भित्र्याउन तयार भएको गहुँ आगलागी भएर नष्ट हुँदा किसानहरूलाई वर्षभरि खानाको जोहो गर्न समस्या हुने देखिएको छ।

यस्तो अवस्थाबाट बच्न र जोखिमको सुरक्षाका लागि कृषि बिमा तर्फको बाली बिमा गर्दा किसानहरूलाई सम्भावित जोखिमबाट बच्न सहज हुने बिमा प्राधिकरण धनगढीका प्रमुख पण्डितले बताए। किसानले कृषि बिमा गरे कुनै प्रकोप या घटनाबाट बाली नष्ट भए बिमा कम्पनीले क्षति बराबरको रकम भुक्तानी गर्छ। रकम भुक्तानी पाउन किसानहरूले बाली नष्ट भएको कागजात र प्रमाणसहित समयमै बिमा कम्पनीमा जानकारी दिनुपर्छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस