सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा आज मतगणना हुने

२०८१ वैशाख १६, ०७:२५ खबर संवाददाता

धनगढीः बझाङमा आज मतगणना हुने भएको छ। बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा शनिवार भएको उपनिर्वाचनको आज मतगणना हुने भएको हो।

शनिवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ४९ दशमलव १२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ। बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका छन्। जिल्लाका ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मतदान भने शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ।

मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको छ। मतपेटिका मतगणना स्थल जिल्ला अदालत चैनपुरमा आइतवार बिहान १० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ। जिल्लाको साइपाल गाउँपालिकाको तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला सदरमुकामसम्म ल्याउने व्यवस्था गरिएको छ। मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ गरिनेछ।

नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा ज्यान गएपछि उक्त क्षेत्रमा उपचुनाव भएको हो।

विभिन्न दलका ११ जना उम्मेदवार छन्। एमालेबाट दमन बहादुर भण्डारी, काँग्रेसबाट अभिषेक बहादुर सिंह, माओवादी केन्द्रबाट जनक बहादुर बुढा, राप्रपाबाट किशोर कुमार खड्का, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेमकिपाबाट खगेन्द्र बहादुर शाही, जनमत पार्टीबाट सुशीला देवी विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्का, जनता समाजवादी पार्टीबाट राम बहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा उम्मेदवार छन्।

 

कमेन्ट लोड गर्नुस