सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले उत्कृष्ट विद्यालयलाई हरेक महिना पुरस्कृत गरिने

२०८१ वैशाख १७, ०९:५५ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका र सरकारी विद्यालयबिच कार्यसम्पादन सम्झौता भएको छ।

उपमहानगरपालिकाले कार्यसम्पादनमा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कृत गर्ने नीति अनुरुप यस्तो सम्झौता गरेको हो। सम्झौताअनुसार हरेक महिना तोकिएका शैक्षिक क्रियाकलाप र उपलब्धि हासिल गर्ने उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिनेछ। उपमहानगरले महिनाको एक पटक प्रधानाध्यापक बैठक राख्ने र सोही दिन प्रधानाध्यापकहरूले महिनाभरि हासिल गरेका उपलब्धिको प्रस्तुती दिनुपर्नेछ।

विद्यालयले सम्पन्न गरेको गतिविधी र हासिल गरेको उपलब्धिका अधारमा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कृत गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए। ‘शैक्षिक सत्र २०८१ सुरू हुनुभन्दा अगाडि नै विद्यालयहरूसँग कार्यसम्पादन सम्झौता गरिएको छ। सम्झौतामा विद्यालयले पूरा गर्नुपर्ने गतिविधि उल्लेख छ।

हरेक महिना प्रधानाध्यापक बैठकमा उत्कृष्ट छनोट हुने विद्यालयलाई पुरस्कृत गरेर उत्प्रेरित गरिनेछ’, खातीले भने। उपमहानगरले गत चैत ८ गते विद्यालयहरूसँग ७२ बुँदे कार्यसम्पादन सम्झौता गरेको छ। अहिले विद्यालयहरूले शिक्षकसँग कार्यसम्पादन सम्झौता गरिरहेका छन्’, खातीले भने। 
शिक्षक तालिम चलाउन चारवटा संस्थासँग सम्झौता 
शिक्षकहरुको क्षमता विकासका लागि तालिम चलाउन उपमहानगरले विभिन्न चारवटा संस्थासँग सम्झौता गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन धनगढीमा शिक्षकहरूलाई तालिम दिन थालिएको छ। शिक्षकहरूलाई विभिन्न तालिम दिन उपमहानगरपालिकाले काठमाडौं विश्वविद्यालय, टिच फर नेपाल, आइडीआइ र कारखाना समूहसँग सम्झौता गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीले बताए।

‘धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र सुरू भएको पहिलो दिन बैशाख २ गतेबाट ८६ जना शिक्षकहरूलाई १६ घण्टे तालिम प्रदान गरेको छ’, उनले भने, ‘काठमाडौ विश्वविद्यालयले धनगढीका बालविकास, आधारभूत तह र माध्यमिक तहका शिक्षकहरूलाई शैक्षिक सामग्री निर्माण, अङ्ग्रेजी भाषा शिक्षण तथा कार्यगत अनुसन्धान सम्बन्धी चार दिने तालिम दिएको छ।

यसपछि अनलाइबाट समेत शिक्षकहरूलाई तालिम दिइने भएको छ।’ काठमाडौं विश्वविद्यालय, आइडीआइ, टिछ फर नेपाल र कारखाना समूहले धनगढीका शिक्षकहरूका लागि तालिमको प्याकेज निर्माण गरिरहेको खातीले बताए। धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन गत वर्ष १७ वटा विद्यालयका प्रधानाध्यापकहरूलाई दिल्लीका विद्यालयको भ्रमण नै गराएको थियो।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस