सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत पाउनै सकस, एमाले किन चिढियो?

२०८१ वैशाख २२, १०:२३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत पाउनै सकस भइरहेको छ।

मुख्यमन्त्रीको नियुक्त भएको एक महिनाभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ। तर सो अवधि नजिकिदै गर्दा पनि विश्वासको मत पाउने आधार भने कमजोर हुँदै गएको छ। विशेष गरि एमालेका कारण मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउन सकस भइरहेको हो। आज (शनिबार) पनि विश्वासको मत लिने मुख्यमन्त्रीले तयारी गरेका छन्।

हिजो (शुक्रबार) विश्वासको मत पाउने सम्भावना क्षीण भएपछि आजको लागि प्रदेश सभा बैठक आह्वान गरिएको हो। हिजो साँझ ५ बजे बोलाइएको प्रदेश सभा बैठक बस्दै नबसी स्थगित हुन पुगेको थियो। ८ बजेको लागि बोलाइएको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेको थिइन्।

नेकपा एमालेले केन्द्रमा परामर्श नगरी र आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि हिजोको बैठक स्थगित गरिएको हो। आज साझ ५ः३० बजे विश्वासको मत लिने गरि प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री सोडारीले आजको लागि बैठक सारिदिन सभामुखलाई आग्रह गरेका थिए।

मुख्यमन्त्रीको आग्रहपछि विश्वासको मत लिने तयारी आजलाई सरेको हो। मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहेका बेला नेकपा एमाले भने थप चिढिएको छ। शुक्रवारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिवार पनि परामर्श बिना नै मुख्यमन्त्रीले सारेको एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बताए। आज पनि मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने संभावना त्यति बलियो नभएको नेताहरुबिच चर्चा छ।

कमेन्ट लोड गर्नुस