‘हाम्रो धनगढी सफा धनगढी’ अभियानमा २२ हजार जोडिए
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले चलाएको सरकारसफाई अभियानमा सहभागिको संख्या २२ हजार नाघेको छ।
कात्तिकदेखि सुरु भएको सो अभियानमा २२ हजारले सहभागिता जनाएका हुन्। धनगढीमा हरेक वडामा साप्ताहिक रुपमा सरसफाइ कार्यक्रम चलाएर नगरवासीलाई फोहरमैलाको वर्गीकरण गर्न समेत सिकाउने काम हुँदै आएको छ। नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष तथा सदस्यहरू विद्यालय र समुदायमै पुगेर सफा धनगढी अभियानमा लाग्न प्रेरित गर्दै आएका छन्।
समुदाय र विद्यालयमा सघन रुपमा यस प्रकारको अभियान चलाउने काम भइरहेको सरसफाइ सहजकर्ता सुरेन्द्र शाहले बताए। ‘हामीले हरेक महिना हरेक वडामा सरसफाइ सप्ताह चलाउने गरेका छौँ। सरसफाइ सप्ताहमा वडा अध्यक्ष र सदस्यसमेत उपस्थित हुने गरेका छन्’, उनले भने, ‘सफा धनगढी अभियान अन्तर्गत हरेक वडामा वडा समिति र टोलमा टोल समिति गठन गरेर सरसफाइ अभियान चलाउने तथा फोहरमैलाको वर्गीकरण गर्न सिकाइन्छ।’
कहिलेबाट सुरू भयो ‘सफा धनगढी’ अभियान?
धनगढी उपमहानगरपालिकाले ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान २०८० कात्तिक १० गतेबाट सुरू गरेको हो। सफा धनगढी अभियान सुरू भएको ६ महिना १२ दिनको अवधिमा विद्यालय र समुदायस्तरमा ५०८ पटक सरसफाइ कार्यक्रम र अभिमुखीकरण गरिएको छ।
सो अवधीसम्म धनगढीका निजी विद्यालयमा ११३ पटक सरसफाइ कार्यक्रम र अभिमुखीकरण गरिएको छ भने ६४ पटक सामुदायिक विद्यालयमा यस्तो कार्यक्रम गरिएको हो। बैशाख २२ गतेसम्म सफा धनगढी अभियानमा प्रत्यक्ष रुपमा २२ हजार ४८० जनाले सहभागिता जनाएका छन्। नगर प्रमुख गोपाल हमालदेखि वडाअध्यक्ष लगायत जनप्रतिनिधि विद्यालय र समुदायमा पुगेर यस्तो अभियानमा लाग्न प्रेरित गर्दै आएका छन्।
उपमहानगरले चलाएको ‘हाम्रो धनगढी सफा धनगढी’ अभियानमा बालबालिकादेखि बृद्धबृद्धाको समेत सक्रिय सहभागिता देखिएको छ। ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा लाग्न धनगढी–१२ सिद्धार्थ टोलका ७३ वर्षीय प्रथनाम चौलागाईले सबैलाई आग्रह गरेका छन्। ‘हामी सबैले सरसफाइमा ध्यान दिनुपर्छ। सरसफाइ आफ्ना लागि हो। हरेक दिन र सरसफाइमा सबैले लाग्नुपर्छ। सरसफाइ सबैका लागि हो, सफाइ भयो भने रोगबाट बच्न सकिन्छ’, चौलागाईंले भने।
नगर प्रमुख आफै विद्यालयमा पुग्छन्
नगर प्रमुख गोपाल हमाल विद्यार्थीहरूलाई सरसफाइमा लाग्न प्रेरित गर्न हरेक विद्यालयमा पुग्ने गरेका छन्। धनगढीमा सामुदायिक र निजी विद्यालयमै पुगेर नगर प्रमुख, वडाअध्यक्ष र अन्य जनप्रतिनिधिले सफा धनगढीमा लाग्न विद्यार्थीहरूलाई आग्रह गरिरहेका छन्। बालबालिकालाई सरसफाइ कार्यक्रम सहभागी गराउँदा त्यसको सन्देश परिवार र समुदायमा चाँडो पुग्ने विश्वास उपमहानगरले गरेको छ।
विद्यालय उमेरका बालबालिकाले आफू पनि असल अभ्यास गर्ने र अरूलाई पनि सरसफाइ सम्बन्धी असल अभ्यास गर्न प्रेरित गर्न सक्ने ठानेर विद्यालयहरूमा सरसफाइ अभिमुखीकरण गर्न थालिएको नगर प्रमुख हमाल बताउँदै आएका छन्। धनगढीका विद्यालयहरूलाई पाँच सय मिटर वरिपरि सरसफाइ गर्ने जिम्मा समेत दिइएको छ।
सरसफाइ अभियानमा सबैले लाग्नुपर्ने धनगढी–३ बोराडाँडीको त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्र भुपेश भट्टको मत छ। ‘हामी सबैले सरसफाइमा लागे हाम्रो धनगढी सफा हुन्छ। मैले घरमा समेत फोहरमैलाको वर्गीकरण गर्न सिकाउने गरेको छु। सबैले यस्तो गरे धनगढी धेरै सफा र सुन्दर हुन्छ’, भट्टले भने।
संघसंस्थाको समेत अभियानमा हातेमालो
धनगढी उपमहानरभित्र सञ्चालित सामुदायिक र निजी विद्यालय मात्रै नभएर अन्य संघ संस्थाले समेत सरसफाइ कार्यक्रम र अभिमुखीकरण गर्न थालेका छन्। धनगढीको साइमा ब्रिज कोर्ष, केजिएस्ट होटेल म्यानजमन्ट, केबी कोरियन भाषा इन्स्टिच्युट लगायतका संस्थाहरूले सरसफाइ अभियान चलाउने गरेका छन्। धनगढीको साइमा ब्रिज कोर्षले फोहर संकलन गर्ने प्रतियोगिता समेत गरेको छ।
‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान चलाइएदेखि धनगढीका सडक र सार्वजनिक स्थलहरूमा फोहरमैला गर्ने काम रोकिएको साइमा ब्रिज कोर्षमा अध्ययनरत भविशा बमले बताइन्। ‘सफा धनगढी’ अभियान चलाइएपछि अहिले धनगढी सफा भएको छ।’ उनले भनिन्।
हरेक वडामा वडा र टोलमा टोल समिति गठन
धनगढीका १९ वडामा १९ वटा वडा स्तरीय सरसफाइ समिति गठन गरिएको छ। यस्तै करिब तीन सयको संख्यामा टोल समिति गठन गरिएको छ। वडा समितिले पूरै वडा र टोल समितिले आफ्नो टोलमा सरसफाइ भए÷नभएको अनुगमन गर्ने गर्छन्। वडा तथा टोल समितिले हरेक महिना सरसफाइ सप्ताह चलाउने गरेका छन्। सरसफाइ सप्ताहमा वडाका जनप्रतिनिधि समेत उपस्थित हुने गरेका छन्।
पहिलो चरणको साप्ताहिक सरसफाइ अभियान सम्पन्न भएर अहिले दोस्रो चरणको अभियान थालिएको छ। वडामा क्रियाशिल सामाजिक परिचालकहरूले पनि सरसफाइ कार्यक्रम गर्न र अभिमुखीकरण चलाउने काम गर्दै आएका छन्। वडा तथा टोल समिति गठन भएपछि सरसफाइमा राम्रो भएको धनगढी–१२ की सामाजिक परिचालक अनिता भट्ट ओझाले बताइन्। फोहरमैलाको वर्गीकरण गर्न पनि सबैलाई थाहा भएको उनको भनाई छ।