सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने पक्षमा एमाले

२०८१ वैशाख २३, १२:४९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय पेचिलो बनेको छ।

एमालेले निर्णय नगर्दा शुक्रबार र शनिबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित नै हुन पुगेको थियो। अर्को बैठकको मिति तोकिएको छैन। एमाले विश्वासको मत दिन हतार नगर्ने पक्षमा देखिएको छ। विश्वासको मतबारे सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावललगायतले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार राति भेट गरेका थिए।

विश्वासको मत लिन जेठ ५ गतेसम्म समय भएकाले अहिले नै हतार गर्नुपर्ने अवस्था नरहेको रावलले बताउँदै आएका छन्। अध्यक्ष ओलीले केन्द्रमा देखिएका समस्या समाधान गरेर मात्रै विश्वासको मत दिनुपर्ने पक्षमा रहेको रावलले बताए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका पछिल्ला अभिव्यक्ति र गतिविधिबारे छलफल गर्नुपर्ने पक्षमा ओली छन्।

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बनाउन एमालेले आनकानी गर्दा नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। एमालेले नसघाए कांग्रेसले सहयोग गर्ने सहमति उनीहरूबीच बनेको थियो। तर, एमालेले समर्थन गरेपछि सोडारी वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए। 

रावलले बझाङ क्षेत्र नम्बर १ ‘क’ मा सांसद थपिएको र उनी बुबाको निधनले बाहिर निस्कन बाँकी रहेकाले पनि मतबारे निर्णय गर्न पर्खिएको बताए। एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउन एमालेका तत्कालीन १०, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार र एकजना स्वतन्त्र सांसदले हस्ताक्षर बुझाएका थिए। तर, नागरिक उन्मुक्तिका पाँच सांसदले सोडारीलाई समर्थन नगरेको जानकारी प्रदेशसभामा बुझाएका थिए।

कमेन्ट लोड गर्नुस