सार्वजनिक जमिनको संरक्षण गर्न सरकारलाई सांसदहरुको ध्यानाकर्षण
काठमाडौँः सांसदहरुले सार्वजनिक जमिनको अभिलेखीकरण र संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै सांसदहरुले सरकारले सार्वजनिक जमिनको यथार्थ विवरण राख्नुपर्ने बताएका हुन्। उनीहरुले सार्वजनिक जमिनको अभिलेखीकरण गरेर आम नागरिकमाझ स्पष्ट पारिनुपर्ने बताए। सांसदहरुले दिनप्रतिदिन सार्वजनिक जमिनको अतिक्रमण भएको भन्दै संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले जग्गाको अभिलेखीकरण हुनुपर्ने बताए। उनले सरकारी निकायसहितको संलग्नतामा सार्वजनिक जमिन अतिक्रमण भइरहेको भन्दै त्यस्ता जग्गाहरु फिर्ता गर्नुपर्ने बताए। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सुकुम्वासीले अहिलेसम्म जग्गा नपाएका बताए। उनले आजसम्म सुकुम्वासी आयोगको नाममा कतिले जग्गा पाए सो कुरा सार्वजनिक गर्न माग गरे। उनले सरकारी जग्गा व्यक्तिको नाममा पारेर प्रयोग गर्ने गरिएको भन्दै त्यस्ता व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने बताए।
नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले अव्यवस्थित बसोवासीलाई राजश्वको दायरामा ल्याउनुपर्ने बताए। उनले मालपोत कार्यालय र नापी कार्यालय भ्रष्टाचारको अखडा भएको भन्दै ती कार्यालयलाई भ्रष्टाचार मुक्त बनाउनेतर्फ छलफल केन्द्रित गर्नुपर्ने बताए। उनले विचौलियामुक्त सार्वजनिक प्रशासन बनाउनुपर्ने पनि बताए।