विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी देशभर तैनाथ
काठमाडौँः यसवर्षको मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरीको टोली स्रोतसाधनसहित देशभर तयारी अवस्थामा छन्।
सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयमा बाढीपहिरो, डुबान एवं विपद्मा परेका बेला तत्कालै उद्धारका लागि मनसुन प्रतिकार्य टोली तयार पारी परिचालन गरिएको जानकारी दिएको छ। स्रोतसाधनसहित तैनाथ जनशक्तिले बाढीपहिरो र डुबानका सम्भावित इलाकामा ‘हजार्ड म्यापिङ’ गरी ती स्थानमा लामो र छोटो गस्ती गर्नुकासाथै देशभरका कार्यालयमा विपद् ‘फोकल पर्सन’ तोकेको छ।
फोकल पर्सनले आवश्यक समन्वय गर्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक कुमार न्यौपाने बताए। राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्ला आपतकालीन सञ्चालन केन्द्रमा तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी खटाइएको छ।
उक्त ठाउँमा खटिएका प्रहरीले आवश्यक समन्वय गर्नुका साथै विपद्मा परेकाको तत्कालै उद्धारका लागि ३९ जिल्लाको ५९ वटा सशस्त्र प्रहरीको कार्यालयमा एक सय २० वटा मोटरबोट तथा ¥याफ्टबोट तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। तालिम प्राप्त जनशक्तिलाई सातै प्रदेशस्थित बाहिनी मुख्यालय, उपत्यकास्थित नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणमा एक÷एक प्लाटुन र गुल्म वा सो भन्दा साना युनिटमा एक सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरिएका आठ वटा ‘मासक्याजुल्टी भेहिकल’ र आठ वटा ए क्लासका एम्बुलेन्सलाई परिचालन गर्न सक्ने गरी सुनसरी, महोत्तरी, कुरिनटार, पोखरा, रुपन्देही, सुर्खेत, कैलाली र काठमाडौँमा तयारी अवस्थामा राखिएको छ।
देशभर रहेका सशस्त्र प्रहरी बलका एकाइमा विपद् प्रतिकार्यमा परिचालन गराउन निश्चित जनशक्ति आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएका छन्। जस अनुरूप एक पटकमा २४सैँ घण्टा रहने गरी पाँच सय ४६ एकाईहरुमा सात हजार चार सय ५५ जनाको जनशक्ति तयारी रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।