सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल–चीनबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बनाउने सहमति

२०८१ असार १२, ०९:५९ खबर संवाददाता

काठमाडौँः नेपाल र चीनबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बनाउने सहमति भएको छ।

काठमाडौँमा भएको नेपाल र चीनका परराष्ट्र मन्त्रालयबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा मन्त्रीस्तरीय आयोग बनाउनेगरी सहमति भएको हो। नेपाल–भारत मन्त्रीस्तरीय संयन्त्र भने यसअघिदेखि नै क्रियाशील छ।

कूटनीतिक परामर्श संयन्त्रको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरेका थिए। बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा हुनुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति तथा निर्णयहरुको मूल्याङ्कनसमेत गरिएको छ।

आपसी सहमति भएका क्षेत्रमा आउँदा दिनमा सहयोगलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक लाभका लागि आर्थिक अवसर सिर्जना गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै पक्षले सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवलाई विशेष कार्यक्रम र गतिविधिका साथ मनाउने निर्णय समेत गरेका छन्। नेपालमा रहेका चीनका उपविदेशमन्त्री वेइतोङले आज राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 
 

कमेन्ट लोड गर्नुस