सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोले मुग्लिङ-नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध

२०८१ असार २८, ०७:५० खबर संवाददाता

चितवन: अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध भएको छ। कालीखोला, सिमलताललगायतका क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो। 

सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएको छ। ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ। बस त्रिशूलीमा बेपत्ता भएकोले खोजी कार्यमा समस्या भएको छ। पहिरो पन्छाउने कार्यको लागि लोडर मेसिन परिचालन गरिएको र जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। 

निरन्तर वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएकोले सडक सुचारु गराउने कार्यमा बाधा उत्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले सडकको अवस्थालाई मध्यनजर गर्दै बैकल्पिक मार्गको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। 

कमेन्ट लोड गर्नुस