दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते
दाङः दाङको दङ्गीशरण–७ बोगटी नजिकै जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आज दाङको तुलसीपुरबाट सल्यानको कालीमाटी जाँदै गरेको लु १ ज १३८३ नम्बरको जिप दुर्घटना हुँदा चालक सल्यान कालीमाटी गाउँपालिका–२ का ४१ वर्षीय खिमबहादुर बोपाल मगर, जिपमा सवार कालीमाटी–३ का १६ वर्षीय किरण बोहरा, सोही ठाउँका १४ वर्षीय विपिन केसी घायते भएका छन्।
यस्तै १० वर्षीया आरती थापा, ३० वर्षीय गणेश केसी, ५० वर्षीया धनसरी खत्री, १५ वर्षीया करिष्मा खत्री घाइते भएका छन्। दुर्घटनामा कालीमाटी–२ का ५४ वर्षीय हुकुमराज पुन, सोही ठाउँका ४९ वर्षीय भानुभक्त वली र बर्दियाको बासगडी नगरपालिका–४ की ३८ वर्षीया सङ्गीता राणासमेत घाइते भएका छन्।
घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। अटोलाई जोगाउन खोज्दा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।