सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्च परिसरमा प्रहरीमाथि नै एक महिलाले गरिन हातपात

२०८१ साउन ७, ०७:०१ खबर संवाददाता

काठमाडौँः सर्वोच्च अदालत परिसर भित्रै प्रहरीलाई कुटपिट गरेपछि एक महिला पक्राउ परेकी छिन्। सर्वोच्चको इजलासमा कार्यरत कर्मचारीसँग रिट निवेदनको फैसलाको नक्कल लिने विषयमा विवाद भएपछि रीता नाम बताउने लुमा चौधरीले महिला प्रहरीलाई कुटपिट गरेकी थिइन्।

सर्वोच्च स्रोतका अनुसार फैसलाको नक्कल लिनका लागि आएको बताएपनि आफूलाई वकिल तथा वारेस बताउने ती महिलाले आफ्नो परिचय पत्र देखाउन नमानेपछि सुरुमा कर्मचारीसँग सवाल जवाफ भएको थियो। विवाद चर्किएपछि त्यहाँ पुगेका पुरुष प्रहरीलाई पनि जथाभावी बोलेपछि उनले महिला प्रहरीलाई बोलाएका थिए।

महिला प्रहरीले उनलाई कार्यालयको कोठाबाट बाहिर निस्कन आग्रह गरिरहेकाबेला कपालमा समातेर भुत्ल्याउन थालेकी थिइन्। ’उनी हातपातमा ओर्लिएपछि थप महिला प्रहरीलाई बोलाएर नियन्त्रणमा लिइएको थियो। तर उनले हत्कडी लगाएकै समयमा पनि महिला प्रहरी कर्मचारीमाथि जाइ लागिन्,’ स्रोतले भन्यो, ’त्यसपछि उनलाई सर्वोच्चमा तैनाथ प्रहरीले हिरासतमा लिएर प्रहरी वृत्त सिंहदरबारलाई बुझाएको थियो।’

स्रोतका अनुसार प्रहरीमाथि हातपातमै उत्रिएकी चौधरीलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो। उनलाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न हाल सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ।
 

कमेन्ट लोड गर्नुस