बङ्गलादेशबाट मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए
काठमाडौँ: बङ्गलादेशबाट मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्। हिजो मात्र ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका थिए।
ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीको यात्रा सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताइन्। सामाजिक सञ्जालमार्फत मन्त्री राणाले मंगलबारसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएको जानकारी दिएकी हुन्।
बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम जारी छ। जारी प्रदर्शनमा पक्राउ पर्नेको सङ्ख्या २ हजार ५०० नाघेको छ भने कम्तीमा १७४ जनाको मृत्यु भएको बताइएको छ। मर्नेमा कयौँ प्रहरी अधिकारीसमेत रहेका छन्।