सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन विभागको चेतावनी

२०८१ साउन १०, ०३:२१

काठमाडौँः  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन इजाजत पत्र प्राप्त संस्थाहरू म्यानपावर लाई चेतावनी दिएको छ।

म्यानपावर व्यवसायीहरूले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने जस्ता कार्य गरेको भन्दै विभागले दुःख नदिन चेतावनी दिएको हो। त्यस्ता खालका गुनासाहरू विभागमा समेत आउने गरेको भन्दै वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

विभागका प्रवक्ता तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले एक विज्ञप्ति जारी गर्दै कारबाहीको चेतावनी दिएका हुन्। म्यानपावर व्यवसायीहरूले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १४ बमोजिम वैदेशिक रोजगारीका लागि विज्ञापनमा उल्लेख गरिए अनुसारको मिति र समयमा अन्तर्वार्ता नगराउने र सार्ने तथा अन्तर्वार्ताको मितिमा आवेदक जाँदा कार्यालय बन्द हुने गरेको गुनासा विभागमा आउने गरेका छन्। त्यस्तो कार्य नगरेर विज्ञापन बमोजिम अन्तर्वार्ता गराउन समेत विभागले सचेत गराएको हो।

त्यस्तै अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूले समेत तोकिएको मापदण्ड बमोजिम तालिम प्रदान नगरेको गुनासो विभागमा पुग्ने गरेको छ। त्यस्तै विभागबाट अनुगमन गर्दा समेत त्यस प्रकारको अवस्था भेटिएकाले ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६’ बमोजिम अनिवार्य तोकिएको मापदण्ड बमोजिम तालिम प्रदान गरेर मात्र प्रमाणपत्र उपलब्ध गराउन विभागले सचेत गराएको छ।

त्यस्तो नगरेको खण्डमा नियमानुसार कारबाही गर्ने चेतावनी विभागले दिएको हो।
 

कमेन्ट लोड गर्नुस