सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले आजै राजीनामा बुझाउने

२०८१ साउन ११, ११:०१


काठमाडौंः कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ।

कोशी सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो।
कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन्।

माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा,राजेन्द्र कार्की स्वास्थ्य मन्त्री,नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन्।यस्तै वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री छन् । केन्द्रमा प्रतिपक्षमा माओवादी पुगे पनि कोशी प्रदेशबाट भने मुख्यमन्त्रीकै आग्रहमा सरकारबाट राजीनामा दिएका थिएनन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि नै केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेश सरकार पुनर्गठन गर्नुपर्ने भन्दै माओवादीलाई सरकार छाड्न सन्देश पठाएका थिए । तर, माओवादी भने मुख्यमन्त्रीले बर्खास्त नगरेसम्म सरकारमा नै रहने अडानमा थियो। माओवादीले कोशी सरकार छाड्ने निर्णय लिएपछि कांग्रेसको प्रदेश सरकार प्रवेशको बाटो खुल्नेछ।

सत्ता गठबन्धनका नयाँ सहयात्रीहरू कांग्रेस र एमालेबीच कोशीको मुख्यमन्त्रीमा आलोपालोको समयसीमा तोक्न, मन्त्रालय र संवैधानिक नियुक्तिहरूको भागबन्डा लगाउन शुक्रबार काठमाडौंमा छलफल सुरु हुँदैछ। अन्यन्त्र प्रदेशमा जस्तै कोशीमा पनि आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्नेगरि एमोल र कांग्रेसले सहमति गर्ने तयारी गरेका छन्।

माओवादीले लिएका तीनसहित मुख्यमन्त्री कार्कीसँग रहेको एक मन्त्रालय थपेर कांग्रेसले चार मन्त्रालय लिने र माओवादीले पाएको एक राज्यमन्त्रीमा थप एक जना गरेर दुई जना राज्यमन्त्री एमालेले लिने मोटामोटी सहमति बनेको स्रोतको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस