पोखरा स्कुल बस दुर्घटनाः दुई जनाको मृत्यु
पोखराः पोखराको मट्टीखान नजिकै भएको स्कुल बस दुर्घटनामा एकजना विद्यार्थीको पनि मृत्यु भएको छ। एलपी देवकोटा मेमोरियल स्कुलमा पढ्ने ५ वर्षका प्रिन्स विकको मृत्यु भएको हो।
यसअघि सोही घटनामा उनकी आमा ३३ वर्षकी आरती विकको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए। दुवै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको थियो। आरती स्कुल बसमा सहयोगी थिइन्।
दुर्घटनामा २९ जना घाइते भएका छन्। उनीहरुको गण्डकी मेडिकल कलेज, मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ। सोमबार बिहान विद्यार्थी लिएर आउने क्रममा एलपी देवकोटा मेमोरियल स्कुलको ग १ क ६२१८ नम्बरको बस सडकबाट पल्टिएको हो।