महिला भलिबल खेलाडीलाई सरकारले जनही ३ लाख दिने
काठमाडौँः सरकारले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा दोस्रो भएका खेलाडीहरूलाई जनही तीन लाख दिने निर्णय गरेको छ।
शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले भलिबल खेलाडीहरूलाई उक्त रकम दिने निर्णय गरेको हो। यसअघि राष्ट्रिय खेलकुद परिषद्ले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा दोस्रो भएका खेलाडीहरूलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई सिफारिस गरेको थियो।
साउन १७ गते देखि २३ गतेसम्म सन्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो। यस्तै सेमिफानलमा इरानलाई पराजित गरी फाइनल पुगेको नेपाली टिम भारतसँग पराजित हुँदा उपविजेता बनेको थियो। प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए।