परराष्ट्रमन्त्री राणाको भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता
भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन्।
उनले सोमवार साँझ हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेकी हुन्। परराष्ट्रमन्त्री राणाले भारतका प्रधानमन्त्री मोदीसँग सोमवार साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट भएको जानकारी दिएकी छिन्। भेटवार्तामा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको उनले बताइन्।
नेपालको परराष्ट्रमन्त्रीका रूपमा आफ्नो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरेको उनले उल्लेख गरेकी छिन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणाको मन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हो।