सुदूर नेपाललाई विश्वसँग जोड्दै

मकवानपुरमा भैँसीले बाघ मर्‍यो

२०८१ भदौ ६, ०९:५५

हेटौँडा: मकवानपुरमा भैँसीले बाघ मारेको छ। मकवानपुरको मनहरीमा भैंसीले हान्दा बाघको मरेको हो। गोठमा बाँधेको भैँसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैँसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीले जनाएको छ।

बिहिवार बिहान मनहरी गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैँसीलाई आक्रमण गर्न बाघ गएको थियो। बाघ र भैँसीको जुधाजुध भएपछि घरधनीले थाहा पाएका थिए। छिमेकीहरूसहित घरधनी जब गोठमा पुगे,‘भैँसी घाइते अवस्थामा थियो, बाघ भने मरेको थियो।’ खबर पाउने बितिक्कै इलाका प्रहरी कार्यालय मनहरी र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लापमटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थलमा पुगेका थिए। प्रहरी जाँदा गोठमा बाघ ढलेको अवस्थामा थियो। भैँसीको भने गर्दनबाट रगत बगीरहेको थियो।

भैँसीले सिङले हान्दा र कुल्चिँदा बाघ मरेको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान जारी छ। पोस्टमार्टमका लागि मृत बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, कसरा लगिएको प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस