३० वर्षे विरुद्ध सशस्त्र प्रहरीका अधिकृत पनि पुगे सर्वोच्च
काठमाडौँ: ३० वर्षे सेवा अवधि लागू नगर्न माग गर्दै नेपाल प्रहरी पछि सशस्त्र प्रहरीहरू पनि सर्वोच्च अदालत पुगेका छन्।
यसअघि नेपाल प्रहरीका अधिकृतहरू सर्वोच्च पुगेका थिए। प्रहरी सेवाको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृतहरू एकसाथ सर्वोच्च अदालत पुगेका थिए। आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले बुधवार (भदौ ५) मा सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै रिट दायर गरेका थिए।
ट्राफिक प्रहरी प्रमुख समेत रहेका एसएसपी जीवनकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी अधिकृतहरूले सहितले वारिसमार्फत रिट दायर गरेका थिए। उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले भदौ ६ गते सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले पहिलो सुनुवाइ गर्दै त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्नू नगराउनू समेत भनेको थियो।
सर्वोच्चले उनीहरूको पदीय जिम्मेवारीमा परिवर्तन नगर्नू नगराउनू र प्रहरी किताब खानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनेको थियो। उनीहरूपछि सशस्त्रका प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीको नेतृत्वमा १२ जनाले रिटमा रिट दायर गरेका हुन्।