कोशी, बागमती र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौँः मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
आज राति देशभर बदली रही कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। आगामी २४ घण्टामा कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।