रासस नेपाली समाचार सेवा परीक्षणका रुपमा आजदेखि २४ सै घन्टा
काठमाडौँः सगरमाथा संवाद समिति र नेपाल संवाद समितिलाई गाभेर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आजको राष्ट्रिय समाचार समिति (रासस) हो।
जनताको करबाट सञ्चालित देशको एक मात्र समाचार समिति राससले आजबाट २४ सै घण्टा आफ्ना सेवाग्राहीको मागलाई सम्बोधन गर्न, आफ्ना सेवाको थप विस्तार र विविधीकरण गर्न र अन्तर्राष्ट्रिय समाचार सेवाहरुको हाराहारीमा आफूलाई उभ्याउन राससले आजदेखि परीक्षणका रुपमा नेपाली समाचार सेवालाई चौबिसै घण्टा विस्तार गर्ने जमर्को गरेको छ।
नेपाली, अंग्रेजी र अन्तराष्ट्रिय समाचार बुलेटिनका अलावा पछिल्लो दिनमा राससले आफ्ना सेवालाई विविधिकृत गर्दै तस्वीर, श्रव्य, श्रव्य–दृश्य, विचार तथा आलेख सेवा प्रवाह गरिरहेको छ। राससले नेपालको संविधान २०७२ को मर्मअनुसार संघीयता र समावेशी अवधारणालाई आत्मसात गर्दै गत वर्षदेखि अवधी भषाको माध्यमबाट मातृभाषामा पनि समाचार सेवा उपलब्ध गराउँदै आएको छ। यसअघि राससले आफ्नो सेवा १७ घण्टा उपलब्ध गराउँदै आएको थियो।